राप्तीनदीमा निर्माणाधिन पुलको लम्बाई बढाउन माग

राप्तीनदीमा निर्माणाधिन पुलको लम्बाई बढाउन माग

नेपालगन्ज १६ जेठ : बाँकेको हुलाकी सडकअन्तर्गत नेपालगन्ज–बघौडा–अगैया सडकखण्डको राप्तीनदीको सिधनियाघाटमा निर्माणाधिन पुलको लम्बाई बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् ।

सिधनियाघाटमा निर्माण भइरहेको सात सय मिटर लामो नयाँ पुलको लम्बाई ११४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने भन्दै   जिल्लाको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पुल को लम्बाई बढाउन सरकारसँग माग गरेका हुन् ।

बाँकेका तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुखलगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षीय भेलाले सो पुलको लम्बाई बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले बताइन् ।

उनले राप्ती नदीको बाढी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई ११४० मिटर रहेकाले हाल निर्माण भइरहेको ७०० मिटर लामो पुलबाट समस्या समाधान नहुने देखिएकाले तीन पालिकाका जनताको तर्फबाट लम्बाई बढाउनुपर्ने माग गरिएको बताए ।

प्रदेशसभा सदस्य नमुनाको पहलमा आयोजना गरिएको सर्वपक्षीय भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिशासिंह थारु र डुडुवा गाउँपालिका ५ का वडा अध्यक्ष झंकबहादुर थापालगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाई वृद्धि नगरिए समस्या समाधान नहुने प्रष्ट पारे ।

उनीहरुले पुलको लम्बाई वृद्धि नगरिए तटबन्धलगायत अन्य काम अगाडि बढाउन नदिने चेतावनी पनि दिए ।

सो अवसरमा हुलाकी सडक आयोजना कार्यालय बाँकेका योजना प्रमुख लिला बहादुर भण्डारी र निर्माण व्यवसायी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीमा प्रमुख धिरेन्द्र दाहालले हाल निर्माण भइरहेको पुलको अवस्थाबारे जानकारी गराउँदै लम्बाई बढाउने कार्य केन्द्रबाट मात्रै हुन सक्ने भएको बताए ।

Duduwa Tato hawa Bachau Image

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगर, शसस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेका प्रमुख एसपी शोभाकान्त खनाललगायतको पनि उपस्थिति रहेको थियो ।

राप्ती नदीको सिधनियाघाटमा रहेको पुरानो पुल साँघुरो र सानो हुनुका साथै नदीको कटान र डुबान क्षेत्र बढ्दै गएकोले त्यहाँ ७०० मिटर लामो नयाँ पुल निर्माण कार्य भइरहेको छ ।

सम्झौता भएको ५३ महिनामा निर्माण सक्नेगरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माण कार्यलाई तीव्रता दिएको छ । 

२०८४ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७९ माघमा पुलको सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । अहिले निर्माण भइरहेको पुल ७०० मिटर लम्बाइ र ११ मिटर चौडा छ । सोही पुललाई ११४० मिटर लामो बनाउनुपर्ने सो क्षेत्रका जनताको माग रहेको छ ।