भारतमा एक नेपालीविरुद्ध मुद्दा, आईएसआईसँग सम्बन्ध भएको आरोपमा
- | नेपाखबर | विदेश | अपराध–घटना
- ९ जेठ २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज ८ जेठः पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
आउटलुक इन्डियाका अनुसार, दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्ने गरी) विरुद्ध चलाएको अपरेशनका क्रममा दुई जना पक्राउ परेका थिए । तीमध्ये एक जना नेपाली नागरिक अन्सरुल मियान अन्सारी भएको समाचारमा उल्लेख गरिएको छ ।
सन् २०२५ को सुरुवात्देखि चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ गरेको समाचारमा जनाइएको छ । दिल्ली पुलिसले हालै अदालतमा अभियोग पत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो ।
भारतीय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेश्नल (एएनआई) ले आईएसआईका तर्फबाट उनी दिल्ली आएको दाबी गरेको छ । ‘उनी पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए’, समाचारमा भनिएको छ, ‘दुवै जना अहिले तिहाड जेलमा छन् ।’
एअनआईले उल्लेख गरेअनुसार, अन्सारी कतारमा रहँदा ट्याक्सी चालक थिए । त्यहाँ उनले आईएसआईको ह्याण्डलरलाई भेटेको र पछि पाकिस्तानमा गएर तालिम लिएको समाचारमा दाबी गरिएको छ ।
‘त्यहाँ आईएसआईका उच्च अधिकृतहरुबाट उनले तालिम लिएका थिए, पछि नेपाल हुँदै उनलाई दिल्ली पठाइएको थियो’, एएनआईले भनेको छ, ‘यो दिल्ली पुलिसको गोप्य अपरेशन थियो, जसमा केन्द्रीय एजेन्सीहरु पनि संलग्न थियो ।’
विगतमा आईएसआईका लागि काम गरेको आरोप लागेका कतिपय नेपालीहरु अज्ञात व्यक्तिको गोली प्रहारबाट विभिन्न स्थानमा मारिएका समेत छन् ।





0 Comments