खजुरा गाउँपालिकाको नमुना कृषि अभ्यास ‘पढ्दै कमाउँदै’

खजुरा गाउँपालिकाको नमुना कृषि अभ्यास ‘पढ्दै कमाउँदै’

नेपालगन्ज २३ वैशाख : खजुरा गाउँपालिका, जो कृषि उत्पादनका हिसाबले बाँकेको उर्बर भूभाग मानिन्छ, पछिल्लो समय वैदेशिक रोजगारी र उपभोक्तावादको प्रवृत्तिका कारण कृषि निर्भरता घट्दै गएको छ। यसै प्रवृत्तिको सन्तुलनका लागि गाउँपालिकाले कृषिमा नयाँ पहलहरू अगाडि सारेको छ।

खजुरा गाउँपालिका–२ ले वडा कार्यालय परिसरमै नमुना करेशाबारी र च्याउ खेती सञ्चालन गर्दै सेवाग्राहीलाई स्वदेशमै कृषि उत्पादनप्रति आकर्षित गराउने प्रयास थालेको छ। प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाका अनुसार पालिकाले कृषिलाई नगदे बालीतर्फ मोड्दै टमाटर, बन्दा, काउली, मुला, साग, आलु, भिण्डी लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादनलाई प्राथमिकता दिइएको छ।

कृषकले उत्पादन गरेको उपजले मूल्य नपाउँदा हुने समस्यालाई ध्यानमा राख्दै पालिकाले सहकारीमार्फत बजारीकरणमा सहजीकरण गरिरहेको छ। अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’का अनुसार बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लि. हाटबजारसँग समन्वय गरी कृषि उपज खरिद–बिक्रीको व्यवस्था मिलाइएको छ। साथै, पालिकाले ‘एक वडा एक नमुना फर्म’ कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।

यसबाहेक, खजुरा–३ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजसँग सहकार्य गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको यो कार्यक्रमले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।


Duduwa Tato hawa Bachau Image

अध्यक्ष बिकका अनुसार इजरायली मोडेलमा विकास भएको खजुराले कृषि क्याम्पससँग सहकार्य गर्दै वैज्ञानिक कृषि उत्पादन र दक्ष जनशक्ति तयार गर्नेतर्फ प्राथमिकता दिएको छ।