बैजनाथमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला

बैजनाथमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला

नेपालगन्ज १६ वैशाख : बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खाल्डोमा गाडिएको अवस्थामा एक बालकको शव फेला परेको छ । करिब १० वर्षीय कुशल बुढाको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो ।

कुशल कोहलपुर नगरपालिका क्षेत्रमै डेरा गरी बस्ने यशोदा बुढाका छोरा हुन् । उनी कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत थिए । वैशाख ८ गतेदेखि हराइरहेका कुशलका बारेमा उनकी आमाले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् ।

स्थानीय एक व्यक्तिले बाख्रा चराउने क्रममा खेतमा बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगेर सानो खाल्डो खनेर गाडिएको अवस्थामा बालकको शव फेला पारेको हो । शव नजिकै परालले छोपिएको अवस्थामा साइकल र बालकले लगाउने टिसर्ट समेत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालकका बुबाको केही वर्षअघि नै मृत्यु भएको थियो । उनकी आमा यशोदाले हाल निरकनाथ योगीसँग पुनः विवाह गरेकी थिइन् र सबै जना कोहलपुरमै डेरा गरी बस्दै आएका थिए ।

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि बालककी आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिइएको छ ।

Duduwa Tato hawa Bachau Image

प्रहरीले घटनाका सम्बन्धमा मृत भेटिएका बालकका आमा र दोस्रो बुवा तथा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूसँग समेत सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताए ।

बालकको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ ।