भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति

दुई दिन ओपिडी र ल्याब सेवा बन्द हुने
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति

नेपालगन्ज १३ वैशाख : नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भई आगलागी भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको बताए ।

उनले अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएकाले तीन करोडभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको बताए । आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन् ।

उनले क्षतिको विवरण सङ्कलन भइरहेकाले आईतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिने बताए ।

शनिबार भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू नरहेकाले मानवीय क्षति हुन नसकेपनि भौतिक क्षति भने ठुलो परिमाणमा भएको अस्पतालले जनाएको छ ।

Duduwa Tato hawa Bachau Image

मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले बताए ।

आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधी जलेर नष्ट भएका छन् । आगलागीका कारण सर्ट सर्किट बताइए पनि सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुई दिन ओपिडी र ल्याब सेवा बन्द हुने

यसैबीच, आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्‍याएपछि भोलि र पर्सि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले जानकारी दिए । 

‘अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपीडी भवन लगायतका ठाउँमा क्षति भएको छ’ उनले भने–‘तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सुचारु गर्न नसकिने भएकोले वैशाख १४ र १५ गते अस्पतालको ओपीडी तथा ल्याब बन्द रहन्छ ।’