झूटो अफवाह फैलाउँदै काँग्रेस,भवितव्यले भएको घटनालाई अनावश्यक प्रचार गरियो : प्रहरी
- | अर्थ | नेपाखबर | अपराध–घटना
- २४ चैत २०८१, आइतवार
- नेपाखबर
नेपालगन्ज २४ चैत्र : नेपालगन्जमा रहेको बीपी कोइरालाको शालिकमा कालो कपडा बेरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो विषयलाई लिएर काँग्रेस र राप्रपा समर्थकहरू आपसमा आरोप–प्रत्यारोप गरिरहेका छन् ।
काँग्रेसले महामानव मान्ने गरेका बीपीको शालिक नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थिति बीपी चोकमा ठडिएको छ । यो राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाको निर्वाचन क्षेत्रमा पर्छ । नेपालमा लोकतन्त्र आएपछि राजा–महाराजाहरूको शालिक तोडफोड गर्ने श्रृंखला चलेको थियो । त्यसैको सिको गर्दै राजावादीहरूले पनि शालिकलाई निशाना बनाएका हुन् त भन्ने प्रश्न उठेको छ ।
काँग्रेसका स्थानीय नेताहरूले राप्रपाका कार्यकर्ताले उग्रता देखाउँदै बीपीको शालिकमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । शालिकको अनुहारमा कालोमोसो दलिएको समेत उनीहरूको दाबी छ । राप्रपाले भने स्थानीयदेखि केन्द्र स्तरबाटै खण्डन गरेको छ । बीपीप्रति आफूहरूको पनि सम्मान रहेकाले यस्तो दुव्र्यवहारको कल्पनै गर्न नसकिने उनीहरूको भनाइ छ ।
काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले यस्तो घृणित कार्यको विरोध गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोराउन चेतावनी दिएका छन् । उनले लोकतन्त्रका लागि बीपीको योदान स्मरण गराउँदै यस्तो दुस्साहस नगर्न सुझाएका छन् ।
पार्टीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ईतिहास बनाएका व्यक्तिको शालिकमा कालोमोसो लगाउने, कालो कपडा बेर्ने र तोडफोड गर्न तयार हुने व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् बाँके काँग्रेस सभापति गौडेलले ।
अफवाह सूचनाले सञ्जाल ‘आतङ्कित’ बनिरहँदा नेपाली काँग्रेस पार्टी, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलदेखि जिल्ला स्तरीय पार्टीका जिम्मेवार नेतादेखि नागरिक अगुवाको परिचय बनाएका व्यक्तिसम्मले उक्त कार्यको विरोध गरेका छन् । तर, उनीहरुले तथ्यभन्दा सामाजिक सञ्जालप्रति विश्वास गर्दा आफैँ आलोचित बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।
अर्थात्, वीपीको शालिकमा तोडफोड भएको पनि थिएन र नियतवश कालोमोसो र जुटको बोरा पनि लगाइएको होइन तथा तोडफोड पनि भएको थिएन । त्यसो भए वीपीको शालिकमा लगाएको कालो वस्त्र के हो त ? अब यसलाई तथ्यमा पढौँ ।
के भएको थियो ?
तीनकुनेमा भएको हिंसात्मक आन्दोलनलाई उक्साएको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलमशेर राणालगायतका नेता तथा कार्यकर्तालाई रिहाइ माग गर्दै शनिबार राति वीपीचोकमा राँके जुलुस निकालियो ।
जहाँ, प्रधानमन्त्रीलगायत व्यक्तिको पुत्लादहन हुन सक्ने भन्दै बाँके प्रहरी चनाखो थियो अर्थात् पुत्लादहन गर्न नदिने र गरिहाले भने छिनभरमै आगो निभाउने र राँकोहरू तत्काल निभाउने प्रहरी रणनीति थियो । सोही अनुसार जुटका बोरालाई पानीमा भिजाएर प्रहरीले राँके जुलुस स्थलतर्फ लिएको थियो ।
प्रहरी र राजावादी समूहबिच राँको तानातान भएको दृश्य सार्वजनिक एउटा भिडियोमा पनि देखिन्छ । सोही क्रममा उक्त बोरा प्रहरी र प्रदर्शनकारीबिच तानातान हुँदा उछिट्टिएर सीधै वीपीको शालिक ढाकिन पुग्यो । जुन नियतवश थिएन । एक्सिडेन्टली थियो ।
उक्त बोरा प्रहरीले एक मिनेट नहुँदै निकाल्यो । त्यही एक मिनेट भित्रमा कुनै एक जनाले तस्बिर खिचे र राजावादीले वीपीको शालिकमा कालो कपडाले छोपे भन्दै सामाजिक सञ्जालमा हाले । अनि शुरु भयो, सामाजिक सञ्जालमा मिथ्था सूचनाको ‘आतंक’ । सामाजिक सञ्जालभरि त्यही एउटै तस्बिर अहिले यत्रतत्र छ।
वीपीको शालिक हेर्दा त्यहाँ कुनै तोडफोड भएको देखिँदैन । तर, सामाजिक सञ्जालभरि हावा फैलियो कि, राजावादीले वीपीको शालिकमाथि हमला गरे ।
सामाजिक सञ्जालमा आए यस्ता प्रतिक्रिया
शङ्कर पोखरेल, महासचिव, नेकपा एमाले
‘राजतन्त्र होइन, राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा हो राप्रपा’ भन्नेहरूले नेपालगन्जमा वीपीको सालिकमा कालो मोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ?
आन्दोलनका संयोजक धवल शमशेरको गृह नगरीबाट दिएको सन्देश हो काँग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई । त्यसैले ‘नेपालमा लोकतन्त्र र राजसंस्थासँगै जान सक्दछ’ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए वीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो। किनकि वीपीको समयमा वीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।
डिल्ली बिसी, नेता, नेकपा एमाले बाँके
राजनीति शालिकमा हैन । शालीन भएर राजनीति गर पुनरूत्थानवादीहरू । प्रश्न, हिजोको बदला आज भन्यौँ भने तिम्रो तन्त्र, ‘वंश मन्त्र’ थियो । अरूले ‘जनको सर्वोच्च’ मान्छन् । जसको सालिकमा बदला भावको प्रतिशोध गर्दैछौं र गर्नेछौं यस्तै गरे तिम्रो वंशतन्त्र सोचसमेत ओलप्पेला ।
ललित रौनियार, नेता, काँग्रेस बाँके
प्रहरी र प्रशासनको उपस्थितिमा आन्दोलनको नाममा अराजक गतिविधि गर्ने अधिकार कसैलाई पनि छैन । नेपालको प्रजातान्त्रिक आन्दोलनको युग पुरुष, नेपाली जनतालाई रैतीबाट नागरिकमा परिणत गराउने महामानव वीपी कोइरालाको शालिकसँग नेपालगन्जमा गरिएको दुव्र्यवहार अत्यन्तै खेदजनक छ ।
यसका दोषीहरूलाई कडा कारबाहीको माग गर्दछु । वर्तमानमा नेता र पार्टीले पनि वीपी कोइरालाले देखाएको मार्ग बिराएकै हुन जसले गर्दा जनमानसमा पार्टी र नेताहरूप्रति वितृष्णा जागेको छ । यो समस्या मात्रै नेपाली काँग्रेसमा छैन, सबै दलमा छ। त्यसकारण यदि यही स्थिति रहिरहने हो र नेताहरू सच्चिन सकेनन् भने परिस्थिति फरक हुन सक्छ ।
सामाजिक सञ्जाल फेसबुकलगायतमा भर पर्दा कसरी तथ्य बाङ्गिँदो रहेछ भन्ने यो एउटा गतिलो उदाहरण हो ।
राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाको भनाइ हेरौं
राप्रपा कुनै इतिहास मेटाउने पार्टी होइन संरक्षण र संवद्र्धन गर्ने पार्टी हो । त्यसमा अझ वीपीलाई त राप्रपा आदर्शका रुपमा मान्दछ । वीपीको अनुहारमा कपडा छोपिएको विषयलाई अतिरञ्जित गर्नुभन्दा पहिले यथार्थ बुझौँ ।
राप्रपाका महामन्त्री तथा माननीय डा.धवल शम्शेर राणाको रिहाइको माग गर्दै गरिएको राँके जुलुसमा प्रहरीले राँको निभाउन प्रयोग गरेको पानीमा भिजाएको जुटको बोरा तानातान गर्दा उछिट्टिएर वीपीको तस्बिरमा गएको त्यसपछि प्रहरीले तुरुन्तै सजिलै निकालेको हो । त्यो भिडियोमा पनि देख्न सकिन्छ ।
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेललाई मेरो सुझाव लोकप्रियताका नाममा सस्तो, हल्का र भडकाव नबन्नुस् आफ्नो चिन्ता लिनुस् काँग्रेसलाई उकासेर राप्रपालाई गलत देखाएर तपाईंको केपी नेतृत्वको सरकारका गलत र अत्याचारका क्रियाकलाप छोपिँदैनन्, छर्लङ्ग छन् ।
काँग्रेस राजावादी भइदिन्छ कि या त राप्रपा वीपीलाई सम्मान गरिदिन्छ कि भन्ने तपाईंको भय र त्रास व्याप्त देखियो । तपाईं जस्तो विदेशी माऔं, लेनिन र स्टालिनलाई पूजा गर्ने र नेपालका इतिहास तोडफोड गरी ध्वंस पार्ने पार्टी होइनौँ हामी । काँग्रेस र राप्रपा आफ्नै माटोमा जन्मेका हुर्केका वीपीका विचारलाई आदर्श मानेर हिँडेका छौं । कमरेड पोख्रेल देश लथालिङ्ग छ, त्यता ध्यान दिनुस् ।
राप्रपाको स्पष्टोक्ति
राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिको आह्वानमा वीपी चोकमा भएको राँके जुलुस कार्यक्रममा निर्वाचित पूर्वप्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको सालिकमा कपडाले मुख छोपिएको तस्बिर भाइरल भएकोले उक्त तस्बिर हेर्दा नगर कार्य समितिको ध्यानाकर्षण भएको छ ।
हामीले हाम्रो नेताहरुको रिहाइको मागको लागि मात्र गरिएको राँके जुलुसमा प्रहरीद्वारा गरिएको हस्तक्षेपमा नमालुम भवितव्यरुपमा कहाँ कसरी उक्त घटना भएको हो ।
हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जन निर्वाचित पूर्वप्रधानमन्त्री वीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रही रहने छ ।
उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमा प्रार्थी छौं ।
बाँके प्रहरी यस्तो भन्छ
दिपक पातली, प्रवक्ता एवम् डिएसपी, बाँके
राजावादीकै समूहले उक्त कपडा शालिकमा राखेको पुष्टि भएको छैन । प्रहरी आफैँले पानीमा भिजाएर बोरा लगेको थियो । प्रदर्शनकारी र प्रहरीबिच तानातान हुँदा उछिट्टिएको हो । हामीले तत्कालै उक्त कपडा निकाली सकेका छौं। आन्दोलनकारीबाट त्यस्तो भएको होइन, छैन । सालिक पनि तोडफोड भएको होइन । यो अतिरञ्जित बनाइएको छ । त्यस्तो होइन ।
बीपीको अनुहारमा कालो कपडामात्रै नभएर कालो पोतिएको प्रचार पनि कांग्रेसले गरेको छ । तर, यथार्थमा कालो पोतिएको छैन । प्रहरीले पनि कालो पोतिएको कुरा झूटो भएको बताएको छ ।





0 Comments