बर्दियामा हुने खो खो लिगको तयारी पूरा
नेपालगन्ज २३ चैत्र : नेपाल मै पहिलो पटक हुन लागेको खो खो लिग प्रतियोगिताको तयारी पूरा भएको छ । आईतबारदेखि बर्दियाको ठाकुरबाबा नगरपालिकामा शुरु हुने खो खो लिग प्रतियोगितामा पाँच ओटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल खो खो संघले देश मै पहिलो पटक शुरु गरेको नेपाल खो–खो लिग २०८१ (ड्रिम खो–खो) खेलका लागि पाँच वटा टिम दर्ता भएको नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले बताए ।
उनका अनुसार डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याकबक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्स टिमले प्रतिस्पर्धा गर्नेछन् । टिममा अन्तर्राष्ट्रिय एक राष्ट्रिय दुई, प्रदेश स्तरीय तीन र जिल्लास्तरका ६ जना गरी १२ जना खेलाडी रहने छन् । प्रतियोगिताको चैत २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
खो खो खेल हेर्न पूरै खेल अवधीसम्मका लागि टिकट दर एक हजार, एक दिन मात्रको लागि दुई सय रुपैयाँ तोकिएको छ । त्यसैगरी विद्यार्थीहरूको लागि पूरै खेल अवधीको पाँच सय र एक दिनका लागि एक सय ५० रुपैयाँ तोकिएको छ ।
ठाकुरबाबा नगरपालिका खो खो खेलका लागि उर्वर भूमि मानिन्छ । गत पुसको अन्तिम सातामा भारतको दिल्लीमा भएको विश्वकप खो खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए । विश्वकप खो खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । २०७० सालदेखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवद्र्धन गर्न शुरु गरिएको थियो ।





0 Comments