पत्रकार महासंघद्वारा सरकारको ध्यानाकर्षण

पत्रकार महासंघद्वारा सरकारको ध्यानाकर्षण

नेपालगन्ज १९ चैत्र : नेपाल पत्रकार महासंघ बाँके शाखाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाउँदै हत्या, कुटपिट तथा आक्रमण गरेको थियोे । पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

‘उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ, अतः प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा अगाडी भनिएको छ, ‘हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीज्यूमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्दछौं, अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण समेत गराउँदछौं ।’

ज्ञापनपत्र बुझाउन पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु निरज गौतम, झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायत पत्रकारहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Duduwa Tato hawa Bachau Image

उक्त हिंसात्मक आन्दोलनमा भिडियो खिच्ने क्रममा पत्रकार रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको थियो भने कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको थियो । यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याउनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको थियो ।