‘गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय’

‘गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय’

नेपालगन्ज ७ चैत्र : नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला जस्तो अडिग र दूरगामी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा बिहीबार नेपालगञ्जमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्ने काँग्रेसी नेताहरुले गिरिजाप्रसाद कोइरालाकै अगुवाईमा मुलुकमा शान्ति स्थापना भएको बताए ।

जंगलमा रहेका माओवादीलाई राजनीतिको मूलधारमा ल्याएर मुलुकमा शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रहेको वक्ताहरुको तर्क थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मीकिले गिरिजा प्रसाद कोइराला दूरदर्शी नेता भएको भन्दै काँग्रेसमा त्यस्तै नेताको अभाव अहिले खड्किरहेको छ भने । उनले लोकतान्त्रिक जनआन्दोलनका नायक कोइरालाकै कारण मुलुकमा सशस्त्र द्वन्दको अन्त्य भएको स्मरणसमेत गरे ।

अध्यक्षताको आसनवाट नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कोइरालाले मुलुक परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । मजदुरहरुको हकअधिकार दिलाउन कोइरालाकै अगुवाईमा मजदुर आन्दोलन भएको स्मरण गरे । स्ववियु निर्वाचनको प्रसंग जोड्दै सभापति गौडेलले पार्टीलाई बदनाम गर्ने, नेता तथा कार्यकर्तामाथि अमर्यादित अभिव्यक्ति दिने कार्यकर्ताको लेखाजोखा पार्टीले गर्ने चेतावती समेत दिए ।

नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोइरालाको अगुवाइकै कारण मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भएको दोहोर्याए । कुर्मीले काँग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिएको उल्लेख गरे ।

महासमिति सदस्यहरुको तर्फबाट बोल्दै लुटबहादुर खत्रीले पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा रोक्न सके काँँग्रेस बलियो पार्टी बन्ने बताउँदै त्यो शिक्षा कोइरालाको त्यागबाट सिक्नु पर्नेमा जोड दिए ।

Duduwa Tato hawa Bachau Image

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ताले कोइराला यो युगको शिखर पुरुष भएको बताए । ‘जे बोल्छु त्यहीँ गर्छु’ भन्ने कोइरालाको भनाइ आफ्नो लागि आदर्श रहेको बताए । उनले पुराना कुरा बिर्सिएर पार्टीलाई गुटमुक्त गराउनु पर्ने बताए । यस्तै प्रदेश क्षेत्रीय सभापतिहरुको तर्फबाट बोल्दै बाँके क्षेत्र नम्बर–१ ‘ख’ का सभापति बलराम शर्माले मुलुकको बृहत्तर बिकासका लागि गिरिजा प्रसाद कोइरालाको अतुलनीय योगदान गरेको बताए ।

कार्यक्रममा भातृ संगठनहरुका तर्फबाट दलित संघ बाँकेका अध्यक्ष कृष्णबहादुर बिक, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाटिल, महासमिति सदस्य दुखिराम लोनिया लगायतले बोलेका थिए । नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य उमा थापा मगर चन्दले गरेकी थिइन् ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश क्षेत्रका पदाधिकारीहरु, पालिका सभापतिहरु, वडा सभापतिहरु लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला र पूर्व सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।