लुम्बिनी कप महिला फुटबलको तयारी तीब्र

लुम्बिनी कप महिला फुटबलको तयारी तीब्र

नेपालगन्ज २९ माघ : आगामी फागुनमा नेपालगन्जमा हुने लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजनाको तयारी तीब्ररुपमा अघि बढाइएकोछ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले नेपालगन्ज रंगशालामा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

प्रतियोगिताको लोगो सार्वजनिक भएसँगै यसको तयारीलाई तीव्रता दिइएको हो । लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।

प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आफ्नो कामलाई तीव्रता दिएका छन् । आर्थिक उपसमिति, समन्वय उपसमिति, सांस्कृतिक उपसमिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरुको दिनहुँजसो बस्ने बैठकले प्रतियोगिता व्यवस्थापनका पक्षलाई सूक्ष्मरुपमा अध्ययन गरेर कामलाई गति दिइरहेको अन्तरालका प्रमुख कार्यकारी शाहले बताए ।

यसैगरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गर्न थालेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् । 

प्रतियोगिता आयोजनास्थल नेपालगन्ज रंगशाला र त्यहाँ रहेको सचिवालयको स्थलगत अवलोकन गर्दै विशिष्ट व्यक्तिहरुले आवश्यक सहयोगका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

Duduwa Tato hawa Bachau Image

संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’, बाँके क्षेत्र नम्बर–३ बाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, प्रतिनिधिसभा सदस्य दिपा शर्मा र लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ लगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

यस्तै, नेपाली काँग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली काँग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गरेका छन् ।