बाँकेमा पहिलोपटक भुइँ ऐँसेलुको व्यावसायिक खेती

बाँकेमा पहिलोपटक भुइँ ऐँसेलुको व्यावसायिक खेती

नेपालगन्ज २९ माघ : बाँके जिल्लामा पहिलो पटक भुइँ ऐँसेलु (स्ट्रबेरी) व्यावसायिक खेती शुरु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–१, च्यामागाउँका ४३ वर्षीय सर्पराज बस्नेतले भुइँ ऐँसेलुको खेती शुरु गरेका हुन् । बस्नेतले दुई कट्ठा जग्गामा ‘क्यामारोसा’ जातको स्ट्रबेरी खेती शुरु गरेका छन् ।

भारतको पुणेबाट गत कात्तिकमा नौ हजार बिरुवा आयात गरेर रोपेका बस्नेतले ती बिरुवाले हाल आएर फल दिन शुरु गरेको जनाउँदै पहिलो सिजनमा नै राम्रो आम्दानी हुने सम्भावना देखेको बताए ।

बिरुवा रोपेको छ महिनाभित्र स्ट्रबेरीले फल दिन थाल्छ । उनले खेती शुरु गर्नुअघि कृषि विज्ञ डाक्टर शसन देवकोटा र दाङका कृषि व्यवसायी वीरेन्द्र खड्कासँग सल्लाह लिएको बताए ।

बाँकेको उष्ण वातावरणमा यो खेती सफल हुनेबारे प्रारम्भिक शङ्का भए पनि मेहनत र उचित परामर्शले सफलता मिल्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।

स्ट्रबेरी खेतीमा नियमित स्याहार, माटोको गुणस्तर र सिँचाइ व्यवस्थापन जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव विज्ञबाट पाएको बस्नेतको भनाइ छ । 

उनले एक बोटबाट औसत आधा किलोदेखि पौने एक किलोसम्म उत्पादन लिन सकिने सम्भावना रहेको जानकारी पाएको बताए । स्ट्रबेरी खेती बाँकेमा पहिलो पटक गरिए पनि बस्नेतले पहिलो सिजनमा नै चार लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेका छन् । यसका साथै खेती सफल भएमा बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना पनि उनले बनाएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो खेती बाँके जिल्लाका लागि एकदमै नयाँ प्रयोग हो । 

Duduwa Tato hawa Bachau Image

माटोको उपयुक्तता र जलवायुको असरको गहिरो अध्ययन गरेर अघि बढेको हुँदा यो खेती सफल हुने सम्भावना धेरै देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । स्ट्रबेरी खेतीमा ध्यान दिनुपर्ने चुनौती भए पनि राम्रो बजार मूल्य, उपभोक्ताको माग र उत्पादनबाट हुने आम्दानीले यसलाई आकर्षक बनाएको बस्नेतको भनाइ छ ।