‘जापान पठाइदिन्छु’ भन्दै करोड ठगी गर्ने युवती पक्राउ
- | अर्थ | नेपाखबर | अपराध–घटना
- २८ माघ २०८१, सोमवार
- नेपाखबर
नेपालगन्ज २८ माघ : जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाँकेको बैजनाथ गाउँपालिका– ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४–१५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको भन्दै परेको उजुरीलाई आधार मानेर प्रहरीले तिर्सनालाई पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी आयुश जोशीले वैदेशिक रोजगार विभागमा उजुरी परेको र पक्राउ आदेश आएकाले तिर्सनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै एक करोड २३ लाख रकम असुलेको आरोप रहेको छ । उक्त रकम असुलेर उनी २–३ महिनादेखि फरार थिइन् ।
उनका विरुद्धमा पीडितहरुले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गराएका थिए । लगत्तै मगरविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मगरविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जनाएकोछ ।





0 Comments