वडाले गरिदिएको ५ सयको वीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त
- | अर्थ | नेपाखबर | स्वास्थ्य
- २४ माघ २०८१, बिहिवार
- नेपाखबर
नेपालगन्ज २४ माघ : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का हनुमान बर्मा दैनिक मजदुरी गर्थे । घर बनाउने काममा मजदुरी गरेर उनको घरपरिवारको जीविका चल्ने गर्दथ्यो ।
त्यहीँकी मुन्नी पासी पनि मजदुर थिइन् । उनले घरघरमा गएर भाँडा माझ्ने गर्थिन् । दुवै जनाको केही अघि मृत्यु भयो । यी असंगठित मजदुरका परिवारले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँका दरले वीमा रकम पाए ।
हनुमानकी छोरी निकिता बर्मा र मुन्नीका दाजु बुधराम पासीले वीमा रकम बुझे । हनुमान र मुन्नीका परिवारले पाएको वीमा रकम घरपरिवारले वीमा गरिदिएकाले पाएका होइनन् ।
वडा कार्यालयले मजदुर, निम्न वर्गका मानिसको वीमा गरिदिएपछि हनुमान र मुन्नीका परिवारले एक लाख २५ हजार पाएका हुन् । वडाध्यक्ष प्रमोद रिजालका अनुसार, वडाभित्र रहेका ३ सय ११ जना मजदुरको वीमा गरिएको छ ।
वडाध्यक्ष रिजालका अनुसार ३११ जना वडावासी मजदुरहरूको म्यादी जीवन वीमा गरिएकोमा दैनिक मजदुरी गर्ने हनुमान बर्मा र अरूको घरमा दैनिक काम गर्ने मुन्नी पासीको केही दिनअघि निधन भए पनि प्रतिपरिवार वीमाबापत एक लाख र क्रिया खर्चबापत २५ हजार रुपैयाँ गरी एक लाख २५ हजार रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष रिजालले भने, ‘वडामा मजदुर, लघु उद्यम तथा अन्य स–साना व्यवसायमा जोडिएका विपन्न समुदायका व्यक्तिलाई लक्षित गरी निःशुल्क जीवन वीमा शुरु गरिएको छ ।’
वडाध्यक्ष प्रमोद रिजालले विपन्न समुदायका व्यक्तिहरू आर्थिक अभावमा वीमाबाट टाढा रहेको अवस्थामा उनीहरूलाई लक्षित गरी कार्यक्रम शुरु गरिएको बताए ।
कार्यक्रम अन्तर्गत १८ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिको वीमा गरिएको छ । प्रिमियम बापत १८ वर्षीय व्यक्तिको २७९ र ५५ वर्षीय व्यक्तिका लागि एक हजार १३५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।
त्यसका लागि वडाले १ लाख ५७ हजार खर्च गरेको थियो । औसत निकाल्दा वीमामा प्रतिव्यक्ति ५ सय ५ रुपैयाँ खर्च गरिएको छ । ५ सयको वीमाले कुनै मजदुरको मृत्यु भएमा एक लाख २५ हजार दिने गरिएको छ ।
वडा कार्यालयले गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेर वीमाको काम गरेको छ । विमित व्यक्ति घाइते भएपनि उसलाई सहयोग गर्ने गरिएको छ ।
दुर्घटनामा घाइते भएका धम्बोझीकै भीम गुरुङलाई उपचार खर्च दश हजार रुपैया दिइएको थियो । गार्डियनका प्रदेश प्रमुख बिमल खड्काले १८ देखि ५५ वर्षका मजदुरको वीमा गरिएको जानकारी दिए ।
उनका अनुसार, नेपालगन्जको वडा नं. १, ७, २० र २२ नम्बरमा यो कार्यक्रम सञ्चालनमा रहेको छ । अन्य वडाले पनि इच्छा देखाएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, गार्डियनका प्रमुख प्रवन्धक कैलाश देवकोटाले मृतकका परिवारलाई विमित रकम हस्तान्तरण गरेका थिए ।





0 Comments