टुर दि ठाकुरद्वारामा भारत र चीनका साइकलयात्री सहभागी हुँदै

टुर दि ठाकुरद्वारामा भारत र चीनका साइकलयात्री सहभागी हुँदै

नेपालगन्ज २३ माघ : नेपालगन्ज साइक्लिङ क्लवले आयोजना गरेको टुर दि ठाकुरद्वारामा नेपाल, भारत र चीनका गरि करिव दुई सय जना सहभागी हुने भएका छन् ।

बाँके र बर्दियाको धार्मिक पर्यटनस्थलको प्रचार प्रसारका लागि क्लवले बर्सेनि टुर दि ठाकुरद्वारा आयोजना गर्दै आएको छ । माघ २५ र २६ गते हुने टुर दि ठाकुरद्वाराको सातौ संस्करणमा भारतका २९ जना र चीनका एक जनासहित करिव दुई सय जना सहभागी हुने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

नेपालगन्जको प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरबाट शुरु हुने टुर दि ठाकुरद्वारा करिव सय किलोमिटरको यात्रा गरि बर्दियाको ठाकुरद्वारा पुगेर समापन हुनेछ ।

माघ २४ गते बिहान नेपालगन्जको बागेश्वरी मन्दिरबाट झाँकीसहित पैदलमार्च हुने र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रमको उद्घाटन गर्ने जनाइएको छ । कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर हुँदै ठाकुरद्वारा पु¥याउने कार्यक्रम रहेको छ ।

साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको घुमौ बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई सघाउ पुग्ने विश्वास गरिएको छ ।

टुर दि ठाकुरद्वारा कार्यक्रमले बाँके र बर्दियाको धार्मिक पयर्टकलाई बढावा दिएको कार्यक्रम संयोजक सुरेन्द्रदीप कार्कीले बताए । क्लवले मेयर कप साइकल दौडजस्ता प्रतियोगिता पनि गर्दै आएको छ ।

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ शुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएकाले करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताए ।

Duduwa Tato hawa Bachau Image

उनले नेपालगन्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवद्र्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

‘टुर दि ठाकुराद्वारा अहिले सबैले चिन्ने छुट्टै ब्राण्ड भएको छ’, उनले भने । यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उहाँले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताए ।

यस कार्यक्रममा सहभागी हुन नेपालीका लागि रु तीन हजार पाँच सय र विदेशीका लागि फरक दर्ता शुल्क तय भएको आयोजकले जनाएको छ । यस कार्यक्रममा कूल रु २५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सापकोटाको भनाइ छ ।