नेपालगन्जका फुटपाथ सौन्दर्यीकरण गरिदैँ
नेपालगन्ज २२ माघ : नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गतका फुटपाथ सौन्दर्यीकरण गर्न थालिएकोछ । पहिलो चरणमा यहाँको मुख्य बजार क्षेत्र गणेशमान चोकदेखि कारकाँदोसम्मको फुटपाथ सौन्दर्यीकरण गर्न थालिएको हो ।
उक्त सडकखण्डअन्तर्गको पश्चिमतर्फको फुटपाथमा कंक्रिट ब्लक बिछ्याउन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । जसका लागि नगरले ५३ भ्याटबाहेक लाख ७६ हजार सात सय २९ रुपैयाँमा ठेक्का दिएको छ ।
गत वर्षको पुष १२ गते राज बिल्डर्सले नगरसँग सम्झौता गरेको थियो । यही माघ मसान्तसम्म फुटपाथलाई सौन्दर्यीकरण गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको थियो । नगरले निर्माण कम्पनीलाई चेतावनी दिएपछि अहिले पुनः कामले निरन्तरता पाएको छ ।
गणेशमान चोकदेखि कारकाँदोसम्म १२ सय मिटर फुटपाथ छ । अहिले पश्चिमतर्फको मात्र फुटपाथमा कंक्रिट ब्लक राख्न थालिएको नेपालगन्ज उपमहानगरपालिकामा इन्जिनियर चन्दनराज दासले जानकारी दिए ।
नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भए पनि यहाँका फुटपाथ अतिक्रमणको चपेटामा परेका छन् । जसले गर्दा सर्वसाधारणहरूले सहजै हिँडडुल गर्न समस्या भएको छ । फुटपाथ व्यवस्थितसँगै सौन्दर्यीकरण भएपछि नगरको सुन्दरता बढाउने र सर्वसाधारणहरूको आवतजावतमा समेत सहज हुने इन्जिनियर दासको भनाइ छ ।
‘नगरलाई सौन्दर्यीकरण गर्न लागेका छौं,’ उनले भने, ‘निर्माण कम्पनीले चासो नदिँदा काम ढिलो भएको थियो । नगरको दबाबपछि पुनः काम शुरु भएको छ । यसले नेपालगन्जको सौन्दर्यतालाई थप टेवा पु¥याउने छ ।’
पहिला लगाएको कंक्रिट ब्लक निकाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पहिला लगाएको कंक्रिट ब्लक दबेकाले निकालेर नयाँ राख्न थालिएको बताइएको छ । पहिला गणेशमान चोकदेखि उत्तरतर्फ करिब एक सय मिटर जति फुटपाथमा कंक्रिट ब्लक बिछ्याइएको थियो ।





0 Comments