चक्र बमको गीतमा महोत्सवस्थलमा दर्जनौं समूहका देउडा नाच

चक्र बमको गीतमा महोत्सवस्थलमा दर्जनौं समूहका देउडा नाच

नेपालगन्ज १६ माघः बुधबार सूर्यास्त हुँदै थियो । प्रादेशिक महोत्सवको अन्तिम कलाकार चक्र बम आधा दर्जन गीत गाएर विदावारीको चरणमै थिए ।

घर फर्कँनेको लर्को थियो । गायक बमले जब ‘भन् साली तेरी दिदी काँ छ’ देउडा गीत गाउन थाले मञ्चमै दुई वटा समूहको नाच बन्यो । गायिका भूमिका गिरी, उद्घोषक शोभा त्रिपाठी, ओविराज आचार्य, समीरमान श्रेष्ठको एउटा समूह बन्यो । सांस्कृतिक उपसमितिका सदस्यले मञ्चमाथि अर्को समूह बनाए । 

मञ्चको तलपट्टिअतिथि बसेको स्थलमा आयोजककोे छुट्टै समूह बन्यो । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ पनि संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वमा पदाधिकारी र सदस्य सम्मिलित समूहमा नाच्न थालिन् । 


भाका बुझे वा बुझेनन्, रुपैडिहा नगरका मेयर डा.उमाशंकर वैश्य, रुपैडिहा व्यापार मण्डल अध्यक्ष, महासचिव पनि हात, खुट्टाको तालमा ताल मिलाउँदै नाच्न थाले । 

मञ्चको पूर्वी छेउमै महिलाको अर्को समूह बन्यो । मञ्च परिसरमा मात्र आधा दर्जन समूहमा देउडा नाच भयो । घर जान तम्सिएका दर्शक पनि फर्केर आए र दर्जनौं समूहमा नाच्न थाले । 

गायक बमले गीत थप्दै गए । प्रादेशिक महोत्सव देउडामय भयो । के युवा, के युवती, के बृद्ध, बालबालिका सबै समूह समूह बनाएर नाच्न थाले । महोत्सव परिसरमा आठ दश जनादेखि सय डेढ सय जनाका दर्जनौं समूहमा देउडा नाच भयो । ‘गीत त सबैले गाउँछन् तर, सबै दर्शकलाई नचाउन सक्ने खुबी देखेर दर्शकहरु गायक वमको प्रशंशा गरिरहेका थिए । 


महोत्सवमा लोक गायिका भूमिका गिरीले चोली मैलो भो...तारासँगै जुन...देउरालीमा..लगायतका गीत गाएर दर्शकलाई नचाएकी थिएन् । गायिका गिरी मञ्चबाट तल ओर्लेर दर्शकसँग हात मिलाउँदै गीत गाएकी थिइन् । मोडल तथा डान्सर आरुषी अस्लामी मगरको नृत्यले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । 

Duduwa Tato hawa Bachau Image

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको आठौं दिन बिहीबार चर्चित लोकगायक बद्री पंगेनी, लोकदोहोरी गायिका अनिता चलाउने, लोकदोहोरी गायक सपना शाही, डान्सर निशु श्रीपाइली र हास्यव्यङ्ग्य कलाकार खन्टे खलास समूहको प्रस्तुती हुनेछ । 


कार्यक्रममा मगर समाज खजुरा सैैनिकको सामूहिक टप्पा नृत्य र इन्टर स्कुल डान्सिङ स्टार २०८१ का कलाकारले प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेको सांस्कृतिक समूहका नृत्य प्रस्तुत गरेको महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङले जानकारी दिए । 


महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द हरेक दिन महोत्सवमा दर्शकको संख्या बढ्दै गरेको बताउँछन् । उनले स्टलमा अर्गानिक सामान खरिद गर्न र सांस्कृतिक कार्यक्रम अवलोकनमा दर्शक आकर्षित भइरहेको बताउँछन् । महोत्सवमा ३०० भन्दा बढी स्टलहरु रहेका छन् ।