लुम्बिनी कप महिला फुटबलको तयारीमा तीब्रता

लुम्बिनी कप महिला फुटबलको तयारीमा तीब्रता

नेपालगन्ज ४ माघ : आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा पत्रकारलाई जानकारी गराइएको छ ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा हुँदैछ । झण्डै एक करोड ३५ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको उक्त प्रतियोगिता ए लेबलको गर्ने तयारी गरिएको छ । यसका लागि श्रोत व्यवस्थापनमा समेत टिम लागि परेकोछ । 

नेपालगन्ज रंगशालामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा सञ्चालन गर्न युद्धस्तरमा तयारी थालिएको जानकारी गराए ।

‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छांै’—कार्यकारी प्रमुख शाहले भने ।

प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बताए । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा शाहले भने—‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइने छ ।’

एक अर्को प्रश्नको जवाफमा शाहले भने लुम्बिनी कप महिला फुटबलको सचिवालय नेपालगन्ज रंगशालामा स्थापना भइसकेको छ । ‘हामीले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेका छौ’—प्रमुख कार्यकारी शाहले भने ।

यति ठूलोस्तरको प्रतियोगिता नेपालगन्जमा आयोजना गर्नु नै मुख्य चुनौती रहेको बताउँदै प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्छ उनले भने ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागि गराउने तयारी थालिएको बताए । 

पत्रकार भेटघाट कार्यक्रममा मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराएका थिए । सो अवसरमा महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पारिएको थियो ।

Duduwa Tato hawa Bachau Image

पत्रकार भेटघाट कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्दलगायतको उपस्थिति रहेको थियो ।