बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
- | नेपाखबर | अपराध–घटना
- २८ पुष २०८१, आइतवार
- नेपाखबर
नेपालगन्ज २८ पुुष : बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ठाकुरबाबा नगरपालिका–७ का पदमकला थापाको पाटे बाघको आक्रमणबाट ज्यान गएको हो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर–७ सुन्दरपुर गाउँकी ४० वर्षीया थापाको मृत्यु भएको ठाकुरबाबा नगरपालिका वडा नम्बर– ७ का वडाध्यक्ष कलम विष्टले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितको टोली लिएर बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै सात मिटर भित्र गएर शव ल्याएको वडाध्यक्ष विष्टले बताए ।
पाटे बाघले आक्रमण गरेर घिसार्दै लैजाने क्रममा ओराही खोला नजिकबाट होहल्ला गर्दै टोलीले शव ल्याएका हुन् । शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया लगिएकोछ ।
बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्र चौरमा बाख्रा चराउने क्रममा आईतबार दिउँसो पाटे बाघले उनलाई आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टोली खटिसकेको छ ।
डार्ट लगायतका अन्य प्रविधिको प्रयोगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । पछिल्लो वर्ष बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटे बाघको आक्रमणमा परेर दुई जनाको ज्यान गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए ।
भदौ महिनामा पाटे बाघको आक्रमणबाट बाँसगढीमा एक महिलाको ज्यान गएको थियो । यस्तै गैँडा र हात्तीको आक्रमणबाट यस आर्थिक वर्षमा दुई जनाको ज्यान गएको छ ।





0 Comments