गठबन्धनको सरकार विकासका मुद्दामा केन्द्रित हुन सकेन: एनपी साउद
नेपालगन्ज २६ पुष : सत्तारूढ नेपाली काँग्रेसका नेता एनपी साउदले सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस–एमाले गठबन्धनको सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका हुन् ।
‘सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन सकिरहेको छैन,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘हामीले विकासका प्राथमिकताहरुको निर्धारण गर्न आवआवश्यक छ ।’
सरकार सुशासन, भ्रष्टाचार अन्त्य, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै साउदले त्यसका लागि सरकारलाई कांग्रेसले साथ दिइरहेको बताए ।
‘अहिलेको गठबन्धनको सरकारले सुशासन कायम गर्न, भ्रष्टाचारको अन्त्य गर्न, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्छ,’ साउदले भने, ‘यसका लागि नेपाली काँग्रेसले सहयोग गरिरहेको छ र काम गर्न नसक्दा खबरदारी पनि गरिरहने छौँ ।’
सरकारका कामहरूको मूल्यांकन विभिन्न तहमा भइरहेको भन्दै काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति सदस्य साउदले पार्टीको आन्तरिक संरचनामा सरकारको कार्यसम्पादनको मूल्यांकन उपर्युक्त समयमा हुने बताए ।
मुलुकको परिस्थिति र पार्टीलाई चलायमान बनाउन आफूहरू जिल्ला दौडाहमा निस्किएको उनको भनाइ थियो । ‘सरकार बनाउँदा ७ बुँदे सहमति गरेका छौँ । ६ महिना पुग्न थालेको छ, यस अवधिमा पार्टीका साथीहरु र जनताको राय के छ भनेर बुझ्न आएका छौँ,’ नेता साउदले भने, ‘अहिले सरकारमा नेपाली काँग्रेस पनि सामेल छ । त्यसकारण सरकारले गरेका कामहरूलाई सहयोग गर्ने र जनताको सेवा गर्नका लागि दबाब दिने र खबरदारी गर्ने जिम्मेवारीमा हामी छौँ ।’
काँग्रेसका केन्द्रिय सदस्य साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने भनाईले आशंका उब्जाएको बताए ।
साउदले सरकार बन्दा बनेको ७ बुँदेमा सहमतिमा संविधानका कमीकमजोरीलाई संशोधन गरेर अघि बढ्ने उल्लेख भएकाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले आशंका उब्जाएको बताए । उनले प्रधानमन्त्रीले आफ्नो भनाईलाई स्पष्ट पार्नुपर्ने बताए । साउदले साना ठूला सबै दलको सहमतिमा संविधानका कमीकमजोरीलाई हटाएर जानु पर्नेमा जोड दिए ।
साउदले संविधान संशोधनको मुद्दामा काँग्रेस प्रतिवद्ध रहेको दोहोर्याउँदै संविधान संशोधनका लागि राष्ट्रिय सहमति जटाउनु पर्ने बताए । ‘संविधानका कमिकमजोरी सुधार गर्न आवश्यक छ । संविधान संशोधनका विषयमा काँग्रेस स्पष्ट छ । यसका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्छ,’ उनले भने ।
यस्तै पत्रकारको एक प्रश्नमा साउदले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताए । उनले अहिले पनि प्रहरी प्रशासन, मालपोत, यातायात कार्यालयमा बदलाव आउन नसकेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा साउदसँगै काँग्रेस केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, गोविन्द बहादुर शाह, अब्दुल सत्तार, चम्पा खड्का लगायतको उपस्थिती रहेको थियो ।





0 Comments