आन्दोलनरत कर्मचारीले सन्जीवनी कलेजको बोर्ड हटाए
- | राजनीति | अर्थ | नेपाखबर | स्वास्थ्य
- २१ पुष २०८१, आइतवार
- नेपाखबर
नेपालगन्ज २१ पुष : नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड हटाइदिएका छन् ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले नेपालगन्ज मेडिकल कलेजमा सेवा प्रवाहलाई प्रभावित पार्ने गरी कर्मचारीहरुबाट भइरहेको आन्दोलन रोक्न अन्तरिम आदेश जारी गरेको दुई दिनपछि आन्दोलित उनीहरुले सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड हटाइदिएका हुन् ।
२०८१ पुस १५ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज उल्लेखित नामको वोर्ड हटाएर ‘सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि’को वोर्ड झुन्ड्याइएको थियो । त्यही वोर्ड आन्दोलनरत कर्मचारीले शनिवार दिउँसो हटाइदिएका हुन् । सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । यही माघ मसान्तभित्र आवेदन दिइसक्न भनेर करिब ९ सय जना कर्मचारीका लागि दरखास्त उक्त सूचनामा माग गरिएको छ ।
ती कर्मचारीहरू तीन सय बेडको अस्पताल सञ्चालनका लागि भनेर माग गरिएको छ । श्रम ऐनमा संस्था मर्ज हुँदा स्वामित्व लिने संस्थाले नै कर्मचारीहरूको पनि दायित्व लिनुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश कर्मचारीहरूको नियुक्ति सन्जीवनी मर्ज भएको नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका नाममा नभई लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडका नाममा भएको छ ।
नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक श्याम शर्मा भन्छन्, ‘अब नेपालगन्जमा रहेको नेपालगन्ज मेडिकल कलेजको सेवा कोहलपुर र चिसापानीबाट मात्रै सञ्चालित हुनेछ ।’ नेपालगन्ज मेडिकल कलेजको बोर्ड झुन्ड्याएर नेपालगन्जमा हालसम्म सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रको संरचना वास्तवमा नेपालगन्ज मेडिकल कलेजको नभई नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि नामक कम्पनीको थियो ।
शर्माका अनुसार उक्त संरचना प्रालिसँग लिजमा लिएर नेपालगन्ज मेडिकल कलेजले आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । अब दरखास्त आह्वान गरिएको भनेर सार्वजनिक सूचनाअनुसार उक्त संरचनामा सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि नेपालगन्जका लागि नयाँ संस्थाले तीन सय बेडको अस्पताल सञ्चालनमा ल्याउनेछ ।
जसका सञ्चालक अहिले नेपालगन्ज मेडिकल कलेजको धेरै सेयर रहेका खुमा अर्याल नै हुन् । पहिले बुटवलमा रहेको प्रालि अब नेपालगन्जमा स्थानान्तरण हुन लागेको हो । ‘अहिले मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीहरूले कि त नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा जानुपर्छ, होइन भने प्रक्रियाअनुसार पुनः आवेदन दिएर काम गर्नुपर्छ,’ शर्माले भने ।





0 Comments