भेरीको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती

भेरीको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती

नेपालगन्ज २० पुष : पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।

विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा चोट लागेका बिरामीको उपचारका लागि अहम मानिने सिटिस्क्यान बिग्रिएको पाँच महिना बिते पनि मर्मत सम्भार नगरिँदा सो अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ ।

सिटिस्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आसमा आएका दुरदराजका बिरामीले महँगो शुल्क तिरेर बाहिर निजी स्वास्थ्य संस्थामा गई सिटिस्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

उनले सिटिस्क्यान नहुँदा सस्तो र सहुलियतमा उपचार गराउन अस्पतालमा पुग्ने गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले उपचारनै नपाएको अवस्था समेत रहेको बताए ।

अस्पताल प्रशासनले सिटिस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाइ नभएको जनाइएको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन एक करोड रुपैयाँ लाग्ने भएकोले समस्या आएको बताए ।

उनले पुरानो मेसिनमा एक करोड खर्च गर्नुभन्दा अत्याधुनिक मेसिन खरिद गरेर ल्याउनतर्फ लागेकोले समय लागि रहेको बताए ।

भेरीमा रहेको सिटिस्क्यान मेसिन १३ वर्ष पुरानो रहेकोले सो मेसिनमा एक करोड खर्च गरेर बनाउने अनि फेरि केही दिनमै बिग्रियो भने के गर्ने भन्ने चिन्ताले पनि नयाँ मेसिन ल्याउनेतर्फ ध्यान गएको अस्पतालको भनाइ छ । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

अस्पतालका मेसु डा. सुवेदीले आफूले नेपालगन्जमा आइपुग्ने स्वास्थ्य लगायतका अन्य मन्त्री र सांसदहरूलाई समेत सिटिस्क्यान मेसिनको समस्या बताउने गरेको सुनाए । तर, सो मेसिनको मर्मत वा नयाँ मेसिन खरिदको पक्रिया दुबै अझै पनि सुरु हुन नसकेको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट दुर्घटनामा परेर आएका वा टाउकोमा समस्या भएर आएका बिरामीलाई अस्पतालमा सिटिस्क्यान नहुँदा सबैभन्दा बढी सास्ती भोग्नु परेको छ ।

Duduwa Tato hawa Bachau Image

अस्पतालमा सिटिस्क्यान नहुँदा कतिपय बिरामीले त महङ्गो शुल्क तिरेर बाहिरबाट सिटिस्क्यान गराउनुभन्दा रोग पालेर बस्न बाध्य रहेको बताइएको छ ।