स्वीट्जरल्याण्डमा आजदेखि बुर्का लगाउन प्रतिबन्ध, उल्लंघन गर्नेलाई डेढ लाख जरिवाना
- | राजनीति | नेपाखबर | अपराध–घटना
- १७ पुष २०८१, बुधवार
- नेपाखबर
नेपालगन्ज १७ पुष : स्विट्जरल्याण्डमा आजदेखि सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लगाइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यस कानूनको उल्लंघन गरेमा एक हजार स्विस फ्र्याङ्क अर्थात एक लाख ५१ हजार नेपाली रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।
सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए ।
यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको छ, जुन आज अर्थात १ जनवरी २०२५ (नयाँ वर्ष) बाट सुरू हुँदैछ ।
स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानून बनेको छ ।
यो कानून लागु भएपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।
कानून २०२२ मा बनेको थियो
सन् २०२२ मा स्विस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो ।
यस अवधिमा १ सय ५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए । त्यसपछि यस सम्बन्धमा कानुन बनेको थियो ।
यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टीले राखेको थियो, जबकि सेन्ट्रल र ग्रीन पार्टीहरू यसको विरोधमा थिए । कतिपयले यो कानूनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन् ।
यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको बताएका छन् ।
लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्विट्जरल्यान्डमा एकदमै कम मानिसले मात्र बुर्का लगाउने गरेका छन् । यहाँ ३० जना महिलाले मात्र नकाब लगाउँछन् ।
२०२१ को तत्थ्याङ्कअनुसार स्विट्जरल्याण्डको ८६ लाख जनसंख्यामा लगभग पाँच प्रतिशत मात्र मुस्लिम थिए, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोका हुन् ।
यसअघि सन् २००९ मा जनमत संग्रहबाट स्विट्जरल्याण्डमा मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो । स्विस पिपुल्स पार्टी राखेको प्रस्तावमा मिनारहरूलाई इस्लामीकरणको संकेत भएको बताइएको थियो।
बुर्का, नकाब अनि हिजाब
बुर्का एक प्रकारको पर्दा हो, जुन प्रायः अफगानिस्तान र दक्षिण एसियाका मुस्लिम महिलाहरूले लगाउँछन् ।
बुर्का भनेको एउटै कपडा हो, जसले पूरै शरीर ढाक्छ । यसमा प्रायः अनुहारको छेउमा पातलो जाल मात्र हुन्छ, जसबाट महिलाले बाहिर देख्न सक्छन् ।
युरोप र खाडी देशहरूमा बुर्काको सट्टा नकाब बढी लोकप्रिय छ । नकाब पनि एक प्रकारको कपडा हो, जसले सामान्यतया अनुहारको तल्लो आधा भाग मात्र ढाक्छ र आँखा वरपरको क्षेत्र खुला रहन्छ ।
टाउको, कान र घाँटी ढाक्ने स्कार्फलाई हिजाब भनिन्छ, जसमा अनुहार खुला रहन्छ । यो धेरै मुस्लिम देशहरूमा प्रयोग गरिन्छ ।





0 Comments