श्रम र यौन शोषणमा परेर बेपत्ता ३ सय ७० को अवस्था अज्ञात

श्रम र यौन शोषणमा परेर बेपत्ता ३ सय ७० को अवस्था अज्ञात

नेपालगन्ज १६ पुष : श्रम र यौन शोषणमा परेर बेपत्ता भएका ३ सय ७० जनाको अवस्था अज्ञात रहेको पाइएकोछ । सन् २०२४ मा हराइरहेका ति ब्यक्तीको खोजीका लागि माइती नेपाल नेपालगन्जमा निवेदन परेको हो । कुल ७ सय ७७ जनाको खोज तलासका लागि निवेदन परेकोमा ४ सय ७ जना मात्र फेला परेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।

नेपालगन्जमा मंगलबार वार्षिक तथ्यांक सार्वजनिक गर्दै कोईरालाले यस्तो जानकारी दिएका हुन् । मानब बेचबिखनका घटना सम्बन्धी ३ वटा मुद्धा दर्ता भएका छन् ।

प्रमुख कोइरालाका उनका अनुसार जोखिमपूर्ण यात्रामा परेका ५ सय ९८ जनालाई सिमानाका क्षेत्रबाट उद्धार गरिएको छ । काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उद्धार गरिएको हो । 

यसैगरी ६ सय १३ जनालाई मानव बेचबिखन र सुरक्षित बसाई सराईबारे जानकारी दिई पारिवारीक पुर्नमिलन गराइएको छ ।

यस्तै श्रम र यौन शोषणमा परेका १३ जनालाई उद्धार गरिएको कोइरालाले जानकारी दिए । सीमाबाट परामर्श दिएर ४ सय ३८ जनालाई घर फिर्ता गरिएको छ ।  

त्यसैगरी घरेलु हिंसा सम्बन्धी १२ वटा घटनाको निवेदन परेकोमा १० वटा घटना समाधान भएको छ । माइती नेपालले ३ जना किशोरीलाई सीपमुलक तालिम प्रदान गरेको छ । 

प्रमुख  कोईरालाले पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्ष्ट्राग्राम जस्ता माध्यमको दुरुपयोग गरेर दलालहरु मानव बेचबिखनमा सक्रिय रहेको बताए । 

माइती नेपालले मानव बेचबिखन नियन्त्रण गर्नका लागि सिमा नाकामा चेकजाँच गर्नुका साथै भारत लगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको कोइरालाले सुनाए । उनले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रण सम्बन्धी काम गरिरहेको बताए । 

भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको छ । त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।

नेपालगन्ज नाका सधैँ भीडभाड हुने भएकाले दलालले मानव तस्करीको लागि यो नाकालाई रोज्ने गरेको कोइरालाको भनाइ छ । त्यसो त नेपालगन्ज नाकामा मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि माइती नेपाल, साथी संस्थालगायत एक दर्जनको चेकप्वाइन्ट रहेका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा गरिएको अन्तरक्रियामा शाखा अध्यक्ष नविन गिरीले मानव बेचबिखन विरुद्ध पत्रकार तथा सञ्चारकर्मीले आवाज बुलन्द गर्नुपर्ने बताए । 

Duduwa Tato hawa Bachau Image

मानब बेचबिखन विरुद्ध प्रत्येक नागरिक सजग हुन जरुरी रहेको उनको भनाई छ । सो क्रममा वरिष्ठ पत्रकार निरज गौतम, अर्जुन ओली, दुर्गा रोकाय र विजय मल्ल लगायतले जिज्ञासा राखेका थिए ।