सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा

सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा

नेपालगन्ज १४ पुष : परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताएकीछन् । कैलालीबाट फर्किने क्रममा आईतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेकी परराष्ट्रमन्त्री डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिदैँ सो बताएकी हुन् । 

उनले नाकामा छोटी भन्सारहरु खुलाउने विषयमा जनप्रतिनिधिहरुले महत्वपूर्ण विषय उठाएको जानकारी दिदैँ यसका लागि पहल गर्ने बताइन् ।

बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्नुहुँदै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताइन् ।

विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरु बर्दिया ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ ।

त्यसअघि परराष्ट्रमन्त्री डा. राणासँग ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट र नेपाल तरुण दल केन्द्रिय सदस्य युवराज अधिकारी लगायतले बर्दिया जिल्लाका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

प्रमुखद्वय लम्साल र भाटले नेपाल भारत सीमानामा पर्ने पुरानो छोटी भन्सार बर्दियाको धनौरा नाकालाई यथाशक्य खुलाउनुपर्ने, बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माण तथा सडकमा पर्ने रुख कटानलाई सहज बनाउनुपर्ने माग राखे ।

धनौरा नाका र भुरीगाउँ तेलपानी सडक खुलेमा तराईदेखि पहाड हुँदै हिमालसम्म सडक जोडिने र आर्थिक विकासमा फड्को मार्ने उनीहरुको दाबी छ ।

Duduwa Tato hawa Bachau Image

यस्तै, मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि जङ्गल किनारमा हात्ती छेकबार पर्खाल निर्माणका लागि थप बजेट बढाउनुपर्ने, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गमा आकाशेपुल बनाउनुपर्ने, विश्व बैंक र एशियाली विकास बैंकका विकासका योजनाहरु ठाकुरबाबा र मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका अन्य पालिकामा लागू गराउन पनि मन्त्री राणासँग आग्रह गरिएको थियो ।