फत्तेबाल अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण
- | नेपाखबर | स्वास्थ्य
- ४ पुष २०८१, बिहिवार
- नेपाखबर
नेपालगन्ज ४ पुष : पश्चिम नेपालकै एक मात्र ठुलो आँखा अस्पताल नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ।
पाँच महिना अघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा.राजशी श्रेष्ठले बताए ।
यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन। फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठ यो सेवाको शुरुवात गरेका हुन् ।
उनका अनुसार सानो समयमै यस क्षेत्रका र भारतका धेरै जनाको आँखाको नानी प्रत्यारोपण गर्न सकिएको जनाउँदै यहाँ कर्निया सर्जरी शुरु गरिएपछि बिरामीलाई सहज भएको छ। आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपैयाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको फत्तेबाल आँखा अस्पताल जनाएको छ । १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी अस्पतालका कर्निया बिशेषज्ञ डा. श्रेष्ठले बताए ।
काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र आई बैंक सञ्चालनमा रहेका कारण तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको जनाइएको छ।
फत्तेबाल आँखा अस्पतालमा आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट दैनिक ठुलो संख्यामा मानिस आउने गरेको छन् भने पश्चिम नेपालका लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण आँखा उपचारका लागि आउने गरेको अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताए । उनले सो अस्पतालले बाँके लगायत विभिन्न जिल्लाका पालिकाहरुमै पुगेर निशुल्क आँखा उपचार शिविर आयोजना गरि आँखा परीक्षण तथा उपचार गर्दै आएको बताए ।





0 Comments