पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन सफल बनाउन पत्रकार महासंघको अपील
पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपालगन्ज १८ मंसिर : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । तोकिएको समयमा निर्वाचन हुन नसकेपछि पुनः कार्यतालिका सार्वजनिक भएको हो ।

महासंघको केन्द्रिय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।

संयोजक खनालका अनुसार नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ । 

कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २२ गते बिहान ११ बजे रहेको छ ।

कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने त्यसै दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना शुरु हुनेछ ।

कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मंसिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रिय निर्वाचन समितिले आग्रह गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने मतदाताको नामावली मंगलबार बिहान नै सार्वजनिक भइसकेको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिएका थिए ।

विष्टले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उनले पनि राजीनामा दिएका थिए भने अहिले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी रहेकी छन् ।

महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मंसिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो ।

अहिलेसम्म करिव ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन ।

महासंघको निर्वाचन नै गराउन नसकेकाले यस पटकको महासंघको कार्यसमितिलाई इतिहासकै सबैभन्दा कमजोर कार्यसमिति रहेको पत्रकारले टिप्पणी गर्दै आएका छन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

निर्वाचन सफल बनाउन पत्रकार महासंघको अपील

यसैबीच, नेपाल पत्रकार महासंघले आसन्न महासंघको निर्वाचनलाई सफल बनाउने वातावरण तयार गर्न सबैलाई अपील गरेको छ । 

महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सबै अग्रज, नेतृत्व पंक्ति र सहकर्मीलाई अपील गरेकी हुन् ।

महासंघको नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिएका कतिपय पत्रकार आसन्न निर्वाचनको मतदाता नामावलीमा प्राविधिक कारणले छुटेकोमा महासंघलाई दुखित बनाए पनि त्यस्ता पत्रकारलाई आगामी दिनमा सदस्य कायम हुने गरी व्यवस्था मिलाउने कार्यबाहक अध्यक्ष अधिकारीले अपिलमार्फत नै प्रतिबद्धता जनाएकी छन् ।

सार्वजनिक अपीलमा भनिएको छ, ‘सर्वविदितै छ, हामीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने सन्दर्भमा केही कठिनाइ भोग्यौं । यसअघि पटक–पटक निर्धारित निर्वाचनका मिति स्थगित गरिए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भका बीच निर्वाचित अध्यक्ष विपुल पोख्रेल तथा कार्यबाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुप¥यो । यसबीचमा उहाँहरुले निर्वाह गर्नुभएको सकारात्मक भूमिका तथा योगदानको उच्च प्रशंसा गर्दछु ।’

Duduwa Tato hawa Bachau Image

२०८१ असोज १९ मा भक्तपुरमा आयोजित शाखा तथा प्रदेश अध्यक्षको राष्ट्रिय भेलाले उक्त अप्ठेरो परिस्थितिको अन्त्य गरी निर्वाचन सुनिश्चित गर्ने विधि तय गरेकाले राष्ट्रिय भेलाले निर्दिष्ट गरेको विधिबाट मंसिर २८ को निर्वाचत सुनिश्चित भएको अपिलमा भनिएको छ ।

अपीलमा भनिएको छ, ‘अब हाम्रोसामु निर्वाचनमार्फत आउने नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वर्णिम समय आएको छ । यस कार्यभारलाई सफल पार्न महासंघका सम्पूर्ण सदस्य, तीनै तहका कार्यसमिति तथा निर्वाचन समिति, सरोकारवाला संघसंगठन र महासंघप्रति चासो एवं चिन्ता राख्ने सबै शुभेच्छुकलाई हार्दिक अपील गर्दछु ।’