बालबन्दीमा छाला रोगको सङ्क्रमण

बालबन्दीमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज ८ मंसिर : बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका अधिकांश (बालबिज्याइँकर्ता) बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।

उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालबन्दीहरुका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरुको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको सङ्क्रमण पाइएको हो ।

एड्भोकेसी फोरम नेपाल, जिल्ला बाल न्याय समिति र बाँके जिल्ला अदालतले जयेन्दु बाल सुधार गृह र भेरी अस्पतालसँगको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सुधार गृहमा रहेका २७० जना बालबन्दीले स्वास्थ्य सेवा लिएको एड्भोकेसी फोरम लुम्बिनी संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जाँच गरिएका २७० जनामध्ये १८२ जनामा छाला सम्बन्धी रोग, ११ जनामा अन्य रोग र बाँकी केहीमा सामान्य देखिएको हो ।

‘सुधार गृहमा रहेका २७० जना बालबन्दीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, १८२ जनामा छाला सम्बन्धी रोग देखियो, छाला रोग बाहेक तीन जनामा मेडिसिन, तीन जनामा नाक, कान र घाँटी, दुई जनामा अर्थो र तीन जनामा आँखा सम्बन्धी रोगको समस्या देखिएको छ’, अधिवक्ता गौतमले भने, ‘छाला रोगीलाई शिविर मै उपचार गरेका छौँ, आवश्यक औषधी समेत प्रदान गरेका छौँ, अन्य ११ जनालाई भेरी अस्पतालमा थप उपचार गराउनका लागि सुधार गृह प्रशासनसँग आग्रह गरेका छौँ ।’ 

अधिवक्ता गौतमका अनुसार स्वास्थ्य जाँचका क्रममा बालबन्दीहरुमा बढी मात्रामा लुतो, दाद, इक्जीमा, फङ्गल इन्फेक्सन, डण्डीफोर, मुख पाखेको लगायतका समस्या देखिएको छ । स्वास्थ्य शिविरमा भेरी अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.अस्मिता गौतम, नर्सिङ अधिकृत शिला शर्मा र अस्पताल नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवालीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको उनले बताए ।

स्वास्थ्य शिविरमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सशस्त्र प्रहरी बल ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक आयुषप्रसाद जोशी, बाल सुधार गृहका इन्चार्ज बिमला काउचामगर लगायतको उपस्थिति रहेको थियो । 

जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जिल्ला बाल न्याय समितिको निर्णय बमोजिम स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाउँदै बाल न्यायको कार्यान्वयनका लागि सबैले आआफ्नो स्थानबाट योगदान पु¥याउनु पर्नेमा जोड दिए ।

सुधार गृहमा रहेका बालबन्दीहरुलाई छाला सम्बन्धी रोगको संङ्क्रमण भएकोले एडभोकेसी फोरम समक्ष बालबन्दीहरुको स्वास्थ्य जाँचका लागि अनुरोध भएपश्चात् फोरमको संयोजनमा जिल्ला बाल न्याय समितिको बैठक बसी स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको थियो । बाल न्याय समितिको बैठकमा एड्भोकेसी फोरमले औषधीको व्यवस्थापन मिलाउने र भेरी अस्पतालले चिकित्सक सेवा उपलब्ध गराउने गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको गौतमले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

जयेन्दु बाल सुधार गृहमा बिहीबारसम्म २७० जना बालबन्दीहरु रहेको सुधार गृहका इन्चार्ज विमला काउचामगरले जानकारी दिइन् । जसमध्ये ५ जना भारतीय नागरिक छन् । १४ वर्षभन्दा मुनिका कोही नभएको उनले बताए । १४ वर्षदेखि १५ वर्षसम्मका २९ जना, १६ देखि १८ वर्षसम्मका १५२ जना र १८ वर्ष पुरा भएका ८९ जना बालबन्दी रहेका छन् । २७० जनामध्ये पुर्पक्षका क्रममा १२४ जना र फैसला भएका १४६ जना बालबन्दीहरु रहेको काउचाले बताइन् ।