यातायात कार्यालय कोहलपुर स्थानान्तरणको विरोध : सिडियोलाई बुझाइयो ज्ञापनपत्र

यातायात कार्यालय कोहलपुर स्थानान्तरणको विरोध : सिडियोलाई बुझाइयो ज्ञापनपत्र

नेपालगन्ज २८ कार्तिक : बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्न लागिएको भन्दै विरोध भएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घ र विभिन्न राजनीतिक दलका भातृ संगठनले विरोध जनाएकाछन् ।

यातायात व्यवस्था कार्यालय कोहलपुर स्थान्तरण गर्न लागिएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएकोछ ।

यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्ने कार्य अघि नबढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाइएको हो । 

सङ्घका महासचिव भीमबहादुर रानाभाटले नेपालगन्जमा रहेका अधिकांश सरकारी कार्यालय प्रदेश संरचनापछि सुर्खेत र बुटवल स्थानान्तरण भएको र बाँकी रहेका कार्यालय पनि अन्यत्र स्थानान्तरण गर्ने कार्य तत्काल रोक्न माग गर्दै प्रदेश मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए ।

रानाभाटले भने,‘नेपालगन्ज रित्ताउने र रित्तिने सिलसिला रोक्न चिन्ता जाहेर गर्दै सङ्घले ज्ञापनपत्र बुझाएको छ, आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ ।’

यातायात व्यवस्था कार्यालय नेपालगन्ज हाल बाँके गाउँमा भाँडाको घरमा रहेको छ । नेपालगन्ज उप–महानगरपालिकाले कार्यालयका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण हुन लागेको भन्दै विरोध गरिएको छ । 

हाल नेपालगन्जमा यातायात कार्यालय रहेपनि सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा कोहलपुरमा हुँदै आएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेका निजी सचिव शाखा अधिकृत प्रदीप खनालले नयाँ सवारी अनुमतिपत्रका लागि ट्रायल हुँदै आएको कोहलपुरमा सहजताका लागि बायोमेट्रिक र लिखितको काम समेत हुने गरी सेवा कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिँदै नेपालगन्जबाट कोहलपुर कार्यालय स्थानान्तरण गर्ने कुनै योजना नरहेको बताए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

यातायात कार्यालय स्थानान्तरणको विषयमा नेपालगन्ज र कोहलपुरबासी विभाजित भएका छन् । बर्दिया लगायतका जिल्लामा कार्यालय स्थापना गर्न नसक्ने तर, एउटै जिल्लामा दुईवटा कार्यालय किन आवश्यक पर्ने भन्दै नेपालगञ्जबासीले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, यातायात व्यवस्था कार्यालय कोहलपुर स्थान्तरण गर्न लागिएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा र नेकपा एसले संयुक्तरुपमा ध्यानाकर्षण पत्र जारी गरेकाछन् । 

Duduwa Tato hawa Bachau Image

नेकपा एमाले नेपालगन्ज नगर अध्यक्ष मोहित शाह, नेपाली काँग्रेस कार्यबहाक नगर सभापति धनराज बर्मा, नेकपा माओबादी नगर अध्यक्ष रतन शाही, राप्रपा नगर अध्यक्ष हुकुम केसी, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता र युवा संघ नेपाल, नेकपा एसका केन्द्रिय सदस्य विजयचन्द्र गुप्ताले उक्त ध्यानाकर्षण जारी गरेका हुन् । 

उनीहरुले यातायात व्यवस्था कार्यालय कोहलपुर स्थान्तरण गर्ने भन्ने अपुष्ट समाचारले चिन्तित तुल्याएको भन्दै नेपालगन्जको पहिचान र भविष्य मेट्ने कार्य रोक्न आग्रह गरेकाछन् ।