नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

नेपालगन्ज २२ असोज : दशौं धारा नेपालगन्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।

धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगन्ज कनक्लेव हरेक बर्ष संयुक्त रुपमा गर्ने सम्बन्धमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित धारा नेपालगन्ज म्याराथन र यसको भगिनी इभेन्ट नेपालगन्ज कनक्लेवमा साझेदारी गर्न पाउँदा सम्पुर्ण युवा उद्यमीलाई उत्साहित बनाउने बताए ।

‘प्रायोजक खोज्नेदेखि खर्च व्यवस्थापनमा हाम्रो समान जिम्मेवारी हुनेछ ।’ मञ्चका अध्यक्ष एवं डल्फिन ग्रुपका निर्देशक थापाले भने–‘देश र समाजप्रति युवा उद्यमीको जिम्मेवारीबोध गराउन, केही सिक्न सिकाउन प्लेटफर्म विकास गर्न कनक्लेव सफल पार्ने भारी हामीले पनि बोकेका छौं ।’

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले समाजलाई दिशानिर्देश गर्ने कार्यक्रममा युवा उद्यमीसँग हातेमालो गर्न पाउँदा बेग्लै उर्जा मिलेको बताए ।

‘हाम्रो गाउँ, हाम्रो ठाउँ बनाउने हामीले नै हो, देश बनाउने हामीले नै हो ।’ ठकुरीले भने–‘साझेदारी र सहकार्य संस्कारले नै देश विकास र समृद्धिको बाटोमा जान्छ ।’

मञ्चका निवर्तमान अध्यक्ष एवं नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर नितेश कनोडियाले नेपालगन्ज कनक्लेव जस्तो ज्ञानबद्र्धक कार्यक्रमसँग आफु नेतृत्वमा रहँदा साझेदारी सुरुवात गरेपनि वर्तमान नेतृत्वले निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।

‘अब हरेक नेतृत्वले यस कार्यक्रमसँग साझेदारी गरे अघि बढ्नेमा विश्वस्त छु ।’ डा कनोडियाले भने–‘यद्यपी यसको समग्र नेतृत्व नेपालगन्ज म्याराथनले नै लिनुपर्छ ।’

मञ्चका बरिष्ठ उपाध्यक्ष डा ओम मिश्रले कनक्लेव निरन्तरता र प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा मञ्चका अर्का उपाध्यक्ष इन्जियर अरसद सिद्धिकी, नेपालगन्ज म्याराथनका आउटरिच म्यानेजर चाहना शाह र आइटी कन्सल्ट्यान्ट भानु रेग्मीको उपस्थिति थियो । 

Duduwa Tato hawa Bachau Image

नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्सले कनक्लेव डाइरेक्टर तथा मञ्चले डेपुटी डाइरेक्टर नियुक्त गर्नेछ । चाँडै पत्रकार भेटघाटमार्फत कनक्लेवका बारेमा विस्तृत जानकारी गराइने सहमति भएको छ । नेपालगन्ज कनक्लेव आगामी मंसिर २० र २१ गते हुनेछ भने विभिन्न आठ सेसनमा बहस र छलफल हुने बताइएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।