अधुरा योजना पूरा गर्दै प्रदेश सरकार

अधुरा योजना पूरा गर्दै प्रदेश सरकार

नेपालगन्ज १४ असोज : लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाँकेमा अलपत्र रहेको रङ्गशाला तथा कभर्डहललाई पूर्णता दिने भएको छ । 

बाँकेको खजुरा गाउँपालिका –४ डीगाउँमा प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्च गरेको पालिका स्तरीय रङ्गशालामा तीन वर्षदेखि बजेट नपरेकोमा यसवर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । 

रङ्गशालाको अधुरो प्याराफिटको काम सम्पन्न गर्न सामाजिक विकास मन्त्रालय २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख उद्धव श्रेष्ठले रङ्गशालामा विनियोजन भएको बजेटबाट काम सुरु गर्न नापजाँच भई लागत स्टिमेट तयार भइसकेको जानकारी दिए ।

प्रमुख श्रेष्ठले भने, ‘दशैं अगावै ठेक्का निकाल्ने तयारी गरिरहेका छौं ।’ यसैगरी  नेपालगञ्जमा सम्पन्न भएको राष्ट्रिय खेलकुदको समयमा निर्माण भई अधुरो रहेको खजुरा –२ पुल्चोकस्थित ब्याडमिन्टन कभर्ड हाललाई पूर्णता दिन प्रदेश सरकारले चालु आवमा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सो कभर्ड हलका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । 


Nepalgunj_Bahal_Kar_bebasai_darta Image

निवर्तमान सामाजिक विकासमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले अधुरा योजनालाई सम्पन्न गर्ने गरी बजेट निर्माण गरेको बताउँदै यसको  सदुपयोगका लागि स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताए । 

Duduwa Tato hawa Bachau Image

डीगाउँस्थित पालिकास्तरीय रङ्गशालाको अवस्थाबारे जानकारी लिँदै प्रदेशसभा सदस्य खत्रीले समयभित्र गुणस्तरीय काम गर्न गराउन स्थानीय बासिन्दालाई सचेत भएर लाग्न अनुरोध गरे ।