नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज १० असोज : नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेलाडीहरुले उपयोग गर्न नपाएपछि बाँके जिल्ला फुटबल संघले चरणबद्ध विरोध सुरु गर्दै रङ्गशाला प्रयोग गर्न पाउनु पर्ने माग उठाएको छ । 

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिमा ज्ञापन पत्र बुझाएर रङ्गशाला खेलाडीका लागि खुल्ला गर्न माग गरेको जिल्ला फुटबल संघले रङ्गशालामा फुटबल खेल्न पाउनु पर्ने माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।  संघका पदाधिकारीहरु सहितको टोलि जिल्ला प्रशासन कार्यालय बाँके पुगेर बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ध्यानाकर्षण गराएको हो ।

एन्फाका केन्द्रिय सदस्य एवं संघका अध्यक्ष भोजराज शाहीले प्रमुख जिल्ला अधिकारी रिजाललाई फुटबल मैदान उपलब्धको लागि सिफारिसको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला खेलकुद विकास समिति र एन्फा केन्द्रमा बोधार्थ पठाएको संघले रङ्गशालामा खेल गतिबिधि नहुँदा मैदान घाँसे मैदानमा परिणत भएको जनाएको छ ।


Nepalgunj_Bahal_Kar_bebasai_darta Image

आर्थिक वर्ष २०७५–७६ मा नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुभन्दा अघिदेखि नै रंगशालामा फुटबल खेल्न रोक लगाइएको छ । करिव सात वर्षदेखि रंगशालामा फुटबल खेल्न रोक लगाइएपछि बाँके जिल्ला फुटबल संघले मैदान उपलब्धका लागि चौतर्फी दबाब बढाएको हो ।

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी रिजालले तत्काल नै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दलाई खेल मैदानको विषयमा जिज्ञासा राखेका थिए । प्रमुख जिल्ला अधिकारीको प्रश्नमा चन्दले दशैंपछि खुल्ला हुने आश्वासन दिएको बताइएको छ ।

Duduwa Tato hawa Bachau Image

बाँके जिल्ला फुटबल संघले १२ वर्ष मुनिका बालबालिकालाई कात्तिक १ गतेदेखि एक वर्षसम्म बृहत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लामा फुटबल खेलाडी उत्पादन गर्ने गरी थालिएको प्रशिक्षण कार्यक्रमका लागि मैदान उपलब्ध गराइदिन आग्रह गरिएको संघका अध्यक्ष शाहीले बताए ।

रंगशालाको फुटबल मैदानमा फुटबल खेल्न रोक लगाइएपछि त्यहाँ झार पलाएर झाडी भएको छ । यता खेलाडीले खेल्न नपाउँदा जिल्लाको टीम नै खस्किदो अवस्थामा रहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशालाको स्तरोन्नती गर्दा फुटबल मैदान पनि राम्रो बनाइएको थियो । रंगशालामा राम्रो प्यारापिट बनाइएको छ । उचित संरक्षणको अभावमा मैदान झाडीमा परिणत भएको छ भने प्यारापिट मक्किदै गएको छ ।