असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला

असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला

File Photo

नेपालगन्ज ९ असोज : नेपाल पत्रकार महासंघले आगामी असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेला गर्ने निर्णय गरेकोछ । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिबारे उक्त राष्ट्रिय भेला हुन लागेको हो । 

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेखछ । तीन पटक निर्वाचनको मिति तोकिदाँसम्म सदस्यता लगायतका विवादका कारण महासंघको निर्वाचन तोकिएको मितिमा हुन सकेको छैन । यसबीच महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिइसकेका छन्, भने उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यबहाक अध्यक्षताको जिम्मेवारी सम्हालेका थिए । विष्टले कार्यबहाक अध्यक्षताको जिम्मेवारी लिदैँगर्दा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको थियो । असोज ४ गते मनोनय दर्ता गर्नेदिन कार्यबहाक अध्यक्ष विष्टले समेत राजीनामा दिएपछि महासंघको निर्वाचन अनिश्चित बनेको हो । 

‘२०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसक्ने दुःखद् परिस्थितिको सिर्जना भयो । यो विषम परिस्थितिमा महासंघका अध्यक्ष विपुल पोखे्रलले २०८१ भदौ २४ गते पदबाट राजीनामा दिनुभयो । वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएपछि २०८१ असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको थियो । यसैबीचमा कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि अकस्मात राजीनामा दिएपछि झनै जटिल मोडमा आइपुगेका छौं । असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको छ ।’ महासंघका महासचिव पुरीले जारी गरेको विज्ञप्तीमा भनिएकोछ ।

‘मतदाता नामावलीसम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र पनि बुझाएका छन् । यही सन्दर्भमा २०८१ असोज ९ गते केन्द्रिय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ’ विज्ञप्तीमा भनिएकोछ ।

महासचिव पुरीद्वारा सार्वजनिक विज्ञप्तीमा भनिएकोछ ‘परामर्श भेलापछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रिय समितिको बैठकले जिल्ला÷प्रदेश अध्यक्षहरूको सल्लाह÷सुझाव परामर्शलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाको स्थान यथाशीघ्र जानकारी गराइनेछ ।’  

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

‘त्यस्तै सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रिय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको छ’ उक्त विज्ञप्तीमा भनिएकोछ ।

Duduwa Tato hawa Bachau Image

‘बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिनुभएको राजीनामालाई अनुमोदन गर्दै उहाँहरूले महासंघमा दिनुभएको अमूल्य योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।’ उक्त विज्ञप्तीमा उल्लेखछ ।