बाँकेमा ४४ प्रतिशत धान रोपाइँ सकियो

सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण
बाँकेमा ४४ प्रतिशत धान रोपाइँ सकियो

नेपालगन्ज २८ असार : बाँके जिल्लामा हालसम्म ४४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यही अवधिसम्म जिल्लामा ६० प्रतिशत रोपाइँ भइसकेको थियो । पछिल्ला दिनमा भएको वर्षा र सिक्टा सिँचाइ आयोजनाको पानीका कारण रोपाइँले गति लिएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार असार १५ गते धान दिवस मनाउँदा जिल्लामा ०.५ प्रतिशत मात्र रोपाइँ भएको भए पनि पछिल्लो १० दिनमा तीव्र रूपमा रोपाइँ भएको बताइन् ।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा धान खेती हुने ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १४ हजार ८६३.२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको छ ।

यस वर्ष समयमै वर्षा नहुँदा नेपालगन्ज उपमहानगरपालिका र खजुरा क्षेत्रमा भने रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पानीको अभावका कारण असार दोस्रो सातादेखि सुरु भएको रोपाइँ अझै विभिन्न स्थानमा जारी छ ।

रोपाइँ भएका अधिकांश क्षेत्रमा किसानले सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरेको केन्द्रले जनाएको छ । समयमै वर्षा नहुँदा मसिनो र मध्यम जातका धान खेती गर्ने किसानलाई समस्या भए पनि मोटो धान खेती गर्ने किसानलाई ढिलो वर्षाले खासै असर नपर्ने सूचना अधिकारी शर्माले बताइन् ।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा अधिकांश किसानले राधा–४ लगायतका मोटो धान र केही भारतीय हाइब्रिड जातका धान लगाउँदै आएका छन् । जिल्लाको कुल ५५ हजार ८२६ हेक्टर खेती योग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुने गरेको छ ।

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

यसैबीच, चालु आव २०८२-८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४ दशमलव सात मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।

वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार ६२८ दशमलव ४५० मेट्रिक टन र पोटास २०६ दशमलव ६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जले जनाएको छ ।

कम्पनीमा अझै पनि ३५६ दशमलव १०० मेट्रिक टन युरिया, १०५ दशमलव ६५० मेट्रिक टन डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए ।

बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा रासायनिक मलको माग रहेको उनले बताए ।

Duduwa Tato hawa Bachau Image

किसानले युरिया रासायनिक मल खेतीमा प्रयोग गर्ने बेला नभएपनि पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाको गरेको जानकारी दिँदै प्रमुख श्रेष्ठले रासायनिक मल आउने क्रम जारी रहेको र वितरण कार्य पनि भइरहेको उल्लेख गरे ।

“धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया छर्ने हो तर किसानले पछि नपाइने हो कि भनेर माग गरिरहनुभएको छ ”, उनले भने । साउनभर रासायनिक मलको वितरण हुने जानकारी दिँदै प्रमुख श्रेष्ठले गत वर्षभन्दा सहज ढङ्गले मलको आपूर्ति हुने किसानलाई विश्वास दिलाए ।

उनले यस वर्ष धान रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटास रासायनिक मलको माग भएको जानकारी दिए । आठ स्थानीय तहको जिल्लाका सबै पालिकामा कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको छ ।