राप्ती नदीमा डुबेका ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजी गर्दै प्रहरी
- | नेपाखबर | अपराध–घटना
- २८ असार २०८३, आइतवार
- नेपाखबर
नेपालगन्ज २८ असार : बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ ।
सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ का गोबिन्द सिजापतिकी ११ वर्षीया छोरी खुशी सिजापति र सोही स्थानका विकास रावतका ९ वर्षीय छोरा सुलभ रावत शनिबार साँझ करिब ५ बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । प्रारम्भिक जानकारी अनुसार पौडी खेल्ने क्रममा सुलभ डुब्न थालेपछि उनलाई बचाउन गएकी खुशी पनि नदीले बगाएको बुझिएको छ ।
दुवै बालबालिका शनिबार साँझ करिब साढे ४ बजे घरबाट निस्किएका थिए । उनीहरू डुबेको घटनाबारे एक भैंसी गोठालाले राति करिब ८ बजे परिवारलाई जानकारी दिएका थिए । त्यसपछि पीडित परिवार र स्थानीयले राति १० बजे मात्र सशस्त्र प्रहरीको अस्थायी मनसुन सुरक्षा बेस कुण्डा फत्तेपुरलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा ११ सदस्यीय विपद् व्यवस्थापन टोली मोटर बोटसहित घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरीको टोलीले शनिबार रातिदेखि आईतबार बिहान १ बजेसम्म स्थानीय, पीडित परिवार र नेपाल प्रहरीसँग समन्वय गरी राप्ती नदीमा व्यापक खोजी गरेको भए पनि दुवै बालबालिका फेला परेका थिएनन् ।
आईतबार बिहान पुनः नायब निरीक्षक पुनको कमाण्डकै सोही टोली बिहान ५ बजेदेखि मोटर बोटसहित खोजीमा खटिएको थियो । खोजीका क्रममा ९ वर्षीय सुलभ रावतको शव पौडी खेल्दा डुबेको स्थानबाट करिब ५ सय मिटर तल तथा सिधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ आज बिहान ७ः५० बजे फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले सुलभको शव आवश्यक कानूनी प्रक्रिया तथा पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ । सशस्त्र प्रहरीका अनुसार ११ वर्षीया खुशी सिजापतिको खोजी भने अझै जारी रहेको छ ।





0 Comments