यी हुन् गृहमन्त्री गुरुङको बहिर्गमनका कारण

यी हुन् गृहमन्त्री गुरुङको बहिर्गमनका कारण

नेपालगन्ज ९ वैशाखः प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदमुक्त बनेका हुन् ।

यसअघि आफ्नी श्रीमतीलाई वीमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए । उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो ।

अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङ सरकारबाट बाहिरिए । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हाले । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनाव जितेका गुरुङले त्यसैदिनबाट आफ्नो रफ्तार बढाएका थिए । 

तर, लगातार विवादमा परेपछि उनले २६ दिनमा राजीनामा दिन बाध्य भएका छन् । बुधबार गुरुङले प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ साहलाई राजीनामा बुझाएका हुन् ।  

यो पनि बालेन नेतृत्व सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हतार गरेका गृहमन्त्री गुरुङ विवाद र चर्चाको केन्द्रमा रहे । 

मन्त्री भएको भोलिपल्ट बिहानै ओली र लेखक पक्राउ परेपछि गुरुङले सामाजिक सञ्जाल (फेसबुक)मा जेनजी आन्दोलनका सहिदको शवको तस्बिर राखेर लेखे, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा हो : कानून भन्दा माथि कोही छैन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

उनले लगातार हाइप्रोफाइलहरु पक्राउको शृङ्खला सुरु गरे । पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे । हाइप्रोफाइल पक्राउ गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत संख्या उल्लेख गर्दै ‘काउण्ड डाउन’ सुरु गरेका थिए । उनले पक्राउ गरेका आरोपीहरू मध्ये व्यापारी सुलभ अग्रवाल र दीपक भट्ट मात्रै अहिले थुनामा छन् ।

केपी ओली, रमेश लेखक, लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा र दीपक खड्का अदालतको आदेशले छुटेपछि वैशाख ३ मा साँझ पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘मन्त्री भन्दा जज (न्यायाधीश) शक्तिशाली हुने रहेछ, म अब कानून पढ्दै छु ।’

यो पनि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

चैत २९ मा मन्त्री परिषद्को निर्णय अनुसार प्रधानमन्त्री कार्यालयले विवरण गरेको सम्पत्ति विवरणमा सुधन गुरुङ र परिवारको नाममा करिब २६० रोपनी जग्गा रहेको उल्लेख गरिएको थियो । ८९ तोला सुन र ६ किलो चाँदी गुरुङको सम्पत्तिको विवरणमा उल्लेख भएको भेटिएपछि सामाजिक सञ्जालमा उनको आलोचना भयो । त्यसपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘तिमि जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’

Duduwa Tato hawa Bachau Image

तीव्र आलोचना भएपछि गुरुङले सामाजिक सञ्जालबाट आफ्नो स्ट्याटस हटाए । त्यसपछि गुरुङ रक्षात्मक बनेको उनलाई नजिकबाट बुझ्नेहरू बताउँछन् । भूमि सम्बन्धी ऐन अनुसार गुरुङलाई जग्गाको हदबन्दी लाग्न सक्छ । पोखरामा २० रोपनी जग्गा भाडामा लिएर भाडा नतिरेको घटनामा पनि गुरुङको तीव्र आलोचना भयो।

पछिल्लो समय उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको कम्पनीमा साझेदार रहेको तथ्य बाहिरियो । भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा उनीमाथि धेरै प्रश्न उठ्यो। 

रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सो सापटी लिएर सेयर किनेको दाबी गरे । तर, प्रश्न रोकिएनन् । कुल ५० लाख मूल्य बराबरको सेयर र भट्टसँगको ‘कनेक्सन’बारे चित्तबुझ्दो जवाफ दिन नसकेपछि गुरुङको गृह मन्त्रालयको यात्रामा ब्रेक लागको छ । गुरुङ अब पूर्व मन्त्री र रास्वपाका सांसद मात्र भएका छन् ।

गृहमन्त्री गुरुङ चैत २४ मा काभ्रेको रोशी खोलामा पुगे । २०८१ असोज १२ मा आएको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग अनुगमन गर्दै उनले निर्माणाधीन सड्क चाँडो पुरा गर्न र डेब्रिज नखस्ने गरी सुरक्षित सड्क बनाउन सडकका कर्मचारीलाई निर्देशन दिए।

चैत ३० मा उनले नारायणगढ–बुटवल सडक खण्ड अवलोकन गरे । सो सड्क लामो समयदेखि अलपत्र परेको बारे चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग गम्भीर असन्तुष्टि जनाए । उनले सडकको काम तीव्र गतिमा अघि बढाउन चिनियाँ कम्पनीका अधिकारीहरूलाई निर्देशन दिए । दुई वटा सड्क अनुगमन र निर्देशन दिँदा गृहमन्त्री गुरुङले आफ्नो कार्यक्षेत्रबारे ध्यान नदिएको भनेर आलोचना भएको थियो ।