मालपोत कार्यालयमा बिचौलिया नियन्त्रण गर्न ‘परिचयपत्र अनिवार्य’
- | नेपाखबर | अपराध–घटना
- २१ चैत २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज २१ चैत : भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि ‘परिचय खुल्ने कागजात’ हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ ।
सूचनाअनुसार अनाधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो । कार्यालयबाट सेवा लिन आउने सेवाग्राही, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीले अनिवार्य रूपमा परिचयपत्र बोकेर आउनुपर्नेछ ।
त्यस्तै, अन्य व्यक्तिले पनि कार्यालय प्रवेशद्वारमै परिचय खुल्ने कागजात देखाएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ । साथै, आधिकारिक व्यक्तिबाहेक अन्य कसैले विभिन्न शाखा वा फाँटमा प्रवेश गरी कामकाजमा बाधा नपु¥याउनसमेत कार्यालयले अनुरोध गरेको छ ।
प्रमुख मालपोत अधिकृत सविनसिंह चौधरीले जारी गरेको सूचनामा सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन सबै सेवाग्राहीलाई नियम पालना गर्न आग्रह गरिएको छ।
चौधरीका अनुसार, ‘जेनजी’ आन्दोलनपछि सर्वसाधारणको चाप एक्कासि बढ्दा भवनभित्र अव्यवस्था सिर्जना भएको थियो । “अनावश्यक भीड नियन्त्रण गर्न र सुरक्षा कायम राख्न यस्तो निर्णय लिनुपरेको हो,” उनले भने ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोडका कारण जग्गाधनीले आफ्नो जग्गाको श्रेस्ता कायम गर्न यतिबेला मालपोत कार्यालयमा बढी भीड लाग्ने गरेको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
हेरौं सूचना





0 Comments