हाइसको ठक्करबाट बालकको मृत्यु, हुलाकी सडक अवरुद्ध
- | नेपाखबर | अपराध–घटना
- २० चैत २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २० चैत : बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडा टेपरीमा हाइसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पाँच वर्षीय सुगन राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्ज आउँदै गरेको भे १ ज १५०५ नम्बरको ईभी हाइसले बाटोमा हिँडिरहेका रानालाई शुक्रबार बिहान ११ः३० बजे ठक्कर दिएको थियो ।
हाइसको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो १२ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङको लमही नगरपालिका वडा नम्बर–५ बस्ने अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारी साधनलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरी सहायक निरीक्षक प्रेम विकको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
यसैबीच, बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका छन् । स्थानीयले सडकमा ढुङ्गामुढा र मुढा राखेर सवारी आवागमन बन्द गराएको राप्ती सोनारीको टपरीबाट स्थानीय हेमन्त चौधरीले जानकारी दिए ।





0 Comments