पूर्वप्रधानमन्त्री ओली पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ

नेपालगन्ज १४ चैत : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै निवासबाट पक्राउ परेकाछन ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उनले जानकारी दिए ।

ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । 

Duduwa Tato hawa Bachau Image

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार भनेको छ ।