बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, एउटै कोठामा १२ देखि ४० जना बस्छन्

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, एउटै कोठामा १२ देखि ४० जना बस्छन्

नेपालगन्ज ८ चैत्र : बाँके कारागारमा क्षमताभन्दा करिब २०० धेरै कैदीबन्दी राखिएको छ । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो ।

कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका छन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी हुनु मानव अधिकार उल्लङ्घनको गम्भीर समस्या भएको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया तथा शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताए ।

त्यसैगरी सो टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि अनुगमन गरेको छ । सो हिरासतमा अहिले ६१ जना थुनुवा छन् । केही थुनुवाको म्याद थप नभइ अनुसन्धानका क्रममा रहेको अवस्था भेटिएको एडभोकेसी फोरमका संयोजक गौतमले जानकारी दिए ।

अनुगमन टोलीले कारागारमा रहेका कैदीबन्दीको आधारभूत मानव अधिकार, स्वास्थ्य, सरसफाइ र न्यायिक प्रक्रियामा देखिएका चुनौतीको विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिएको छ । टोलीले कारागार व्यवस्थापन, कैदीबन्दीको दैनिक जीवनयापन र आधारभूत मानव अधिकार पनि नरहेको उल्लेख गरेको छ ।

Duduwa Tato hawa Bachau Image

इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले थुनुवाहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सेवा र खानाको गुणस्तर सुनिश्चित गर्न आग्रह गरे ।

नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी छन् । अनुगमन टोलीले कैदीबन्दीहरूको आवास क्षमता बढाउनुपर्ने, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह र शिक्षा, धार्मिक अभ्यासको व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालेको संयोजक गौतमको भनाइ छ ।