रक्षा बममाथि भएको दुर्व्यवहार घटनामा जेनजी फ्रन्टको आपत्ति

रक्षा बममाथि भएको दुर्व्यवहार घटनामा जेनजी फ्रन्टको आपत्ति

काठमाडौं ७ चैत : नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ।

फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्ना संयोजक बममाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो। ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको हामी घोर भर्त्सना गर्दछौं,’ फ्रन्टले भनेको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यस प्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन।’ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्।
त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए। फ्रन्टले आन्दोलनकारीमाथि दुर्व्यवहार गर्दा आन्दोलन थप कमजोर बनाउने बताएको छ।

Duduwa Tato hawa Bachau Image

‘यस आन्दोलनका सबै पात्रहरू घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौं। यो यात्रामा असहमति हुन सक्छ। प्रश्न उठ्न सक्छन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिनसक्छ। तर यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ फ्रन्टले भनेको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’