सात महिनामा बाँकेका १७ जनामा डेंगु संक्रमण

के हो डेंगु ? कसरी बच्ने ? डेंगुका विरामीले के खाने के नखाने जानौं
सात महिनामा बाँकेका १७ जनामा डेंगु संक्रमण

नेपालगन्ज ३२ साउन : पछिल्लो सात महिनामा बाँकेका १७ जनामा डेंगु संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पताल र नेपालगञ्ज नर्सिङहोममा सन् २०२४ को सात महिनामा १७ जनाले डेंगुको उपचार गराएका छन् । 

स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार आर्थिक वर्ष ०८०-८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा ९४ जनामा डेंगु पुष्टि भएको तथ्यांक रहेको बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०८०÷८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगञ्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो । 

यस वर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बनिरहेको छ ।

के हो डेंगु ?, कसरी बच्ने ?

नेपालमा विशेषतः मनसुन सिजनको अन्त्यतिर कतै न कतै प्रकोपको रूपमा डेंगु देखिने गरेको छ । दशैँ–तिहारतिर डेंगु बढी देखिने गर्दछ । तर, सन् २०१९ मा भने मनसुन सिजन सुरु हुनु पूर्व नै डेंगुले आफ्नो प्रभाव देखाउन सुरु गरिसकेको थियो । त्यो वर्ष डेंगु महामारी नेपालको इतिहासमा नै सबैभन्दा लामो अवधि रहेको र हजारौँलाई सङ्क्रमण गरेको वर्षको रूपमा रह्यो । 

डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्छ । यो लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि सक्रिय हुने गर्छ ।

डेंगुको लक्षण

– एक्कासी उच्च ज्वरो आउने

– ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने

– अत्यधिक टाउको दुख्ने

– आँखाको गेडी दुख्ने

– हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने

– शरीरमा बिमिरा आउने

– रिंगटा लाग्ने

– वाकवाकी लाग्ने, बान्ता हुने ।

डेंगुका गम्भीर लक्षण 

– लगातार बान्ता हुने

– बान्तामा रगत देखा पर्ने

– धेरै पेट दुख्ने

– श्वासप्रश्वासमा समस्या आउने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने

– बेहोस हुने।

बच्ने उपाय

– पूरा शरीर ढाकिने गरी कपडा लगाउने

– लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने

– सुत्दा झुलको प्रयोग गर्ने

– झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने

– लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने ।

डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ। पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ। 

डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन्। डेंगुको हाल विशेष औषधी र खोप छैन । तसर्थ लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य उपाय हो । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे वृद्धि विकास हुने वातावरण नै सिर्जना हुन नदिनु हो । पानी सङ्कलन हुने ठाउँहरूले नै लामखुट्टे वृद्धि विकास गराउन सघाउने गर्दछ । तसर्थ घर÷टोल वरिपरि पानी सङ्कलन हुने ठाउँहरू हुनु दिनुहुँदैन।

डेंगु संक्रमित विरामीले खान हुने र नहुने खानेकुराको सूची निम्न रहेको छ:

खानुपर्ने 

–पानी र झोलजन्य पदार्थ ।

–क्यालोरीयुक्त खानेकुरा : भात, आलु, दूध आदी ।

–आइरनयुक्त खानेकुरा कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरु ।

–भिटामिन सी पाइने खानेकुरा भुइँकटहर, मेवा, कागती आदी ।

–भिटामिन के पाइने खानेकुराहरु केरा, प्याज, बन्दा, काँक्रो आदी ।

खान नहुने 

–चकलेट, चकलेटजन्य ड्रिंक्स्, बट्टामा राखिएका जुस ।

–धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खानेकुराहरु ।

–मसालेदार खानेकुराहरु ।

–चिया, कफी तथा कफीजन्य पदार्थहरु ।

Duduwa Tato hawa Bachau Image