‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन

‘जनताको काँग्रेसप्रति विश्वास र भरोसा धेरै छ’ : उम्मेदवार गौडेल
‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन

नेपालगन्ज १५ माघ : नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बाँकेको समग्र विकाससँगै धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक रहेको बताएका छन् । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर–३ का उम्मेदवार समेत रहेका पुनले यहाँको विकास निर्माण आफ्नो उच्च प्राथमिकतामा रहेको सुनाए ।

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा बिहीबार गरेको भेटघाटमा बोल्दै उनले भने, ‘यही क्षेत्रमा लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको छ, विश्वविद्यालयको जग्गा प्राप्तिसँगै भौतिक पुर्वाधारको कामलाई टुंग्याउनुपर्ने अवस्था छ, कपास विकास समिति र नौवस्ता औद्योगिक क्षेत्रलाई विस्तार गर्नुपर्नेछ, पर्यटकीय क्षेत्रका लागि रुट बनाउनुपर्नेछ ।’ आसन्न चुनावले देशलाई नयाँ बाटोमा लैजाने पनि सभापति पुनले विश्वास गरेका छन् ।

बद्लिदो परिस्थितिमा काँग्रेसले आमनेपाली नागरिकलाई बुझाएर मुलुकको ब्यवस्था र संविधानको रक्षाका लागि मत माग्नुपर्ने अवस्था रहेको पुनले बताए । ‘काँग्रेसले विस्तृत रुपमा छलफल गरेर उम्मेदवार तय गर्न नसकेपनि यसपटकको निर्वाचनमा १ सय ६ जना नयाँ अनुहारलाई टिकट दिएर मैदानमा उतारेको छ,’ बाँके क्षेत्र नम्बर– ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सभापति पुनले भने, ‘पार्टीभित्र केही परिर्वतन भएको छ, सबै परिवर्तन एकै पटक हुने होईन, क्रमिक रुपले हुदै जान्छ ।’ काँग्रेस सबैभन्दा पुरानो पार्टी भएपनि नयाँ विचार र एजेण्डा बोकेको उनले स्पष्ट पारे । 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

काँग्रेस लुम्बिनी प्रदेशले उपसभापति राजु खनालको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको जानकारी दिदैँ सभापति पुनले आफ्ना उम्मेदवार जिताउन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई एकिकृत भएर लाग्न निर्देशन दिए । चुनावमा काँग्रेस उम्मेदवारका विरुद्ध लाग्ने व्यक्तिलाई निर्वाचन परिणाम नआउँदै कारबाही गरिने सभापति पुनले चेतावनी दिए । 

Duduwa Tato hawa Bachau Image

यस्तै नेपाली काँग्रेस बाँकेका सभापति एवम् बाँके क्षेत्र नम्बर–१ का उम्मेदवार नारायणप्रसाद गौडेलले काँग्रेसप्रति जनताको विश्वास र भरोसा रहेको बताए । चुनावको मुखमा नयाँ दलहरु खुलेपनि जनताको विश्वास काँग्रेसप्रति नै रहेको उनको भनाई छ । यसपटकको निर्वाचनमा सचेत नागरिकले नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गरेर विजयी गराउने उम्मेदवार गौडेलले बताए ।

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)

उक्त कार्यक्रममा काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, सह–सचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, महासमिति सदस्य उमा थापामगर, युनियन बाँकेका पूर्वअध्यक्षद्वय जयनारायण शाह र अर्जुन ओली, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई तथा महासंघ बाँके अध्यष नवीन गिरी लगायत काँग्रेस नेता तथा पत्रकारहरु उपस्थित थियो ।

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा