देश, लोकतन्त्र र काँग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा : नेता राठोर

देश, लोकतन्त्र र काँग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा : नेता राठोर

नेपालगन्ज १५ माघ : नेपाली काँग्रेसका नेता किशोरसिंह राठोरले देश, लोकतन्त्र र नेपाली काँग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा रहेको बताएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–३ मा बुधबार आयोजित चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठोरले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन मुलुकलाई संकटबाट निकाल्ने र सात दशक लामो अथक मेहनतबाट प्राप्त राजनीतिक व्यवस्था जोगाउने प्रमुख उपाय भएकाले निर्वाचन सफल पार्नतिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

नेपाली काँग्रेसले नै अगुवाइ गरेर नेपाली जनतालाई दक्षिण एशियामा सबैभन्दा बढी अधिकारसम्पन्न बनाएको, विभिन्न विकासका कार्य अघि बढाएको र कांग्रेसका नेताकार्यकर्ताकै त्याग र बलिदानबाट मुलुकमा शान्ति स्थापना भएको उल्लेख गर्दै उनले अब पनि नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकका बाँकी कार्यभार अघि बढाइने जिकिर गरे ।

जनताप्रति उत्तरदायी पार्टी नेपाली काँग्रेसलाई आगामी निर्वाचनबाट थप बलियो बनाउन काँग्रेसका नेता कार्यकर्ता र शुभचिन्तक एकजुट भै गम्भीरतासाथ लाग्नु पर्ने उनले बताए । भए गरेका कामको यथार्थ मूल्यांकन गरी काँग्रेसलाई मत दिन उनले जनतालाई आग्रह समेत गरे । 

Duduwa Tato hawa Bachau Image

उनले बर्दियाको विकासमा विगतदेखि आफूले थालेका योजना तथा कार्यक्रमलाई निष्कर्षमा पुर्याउन तथा नयाँ योजना र कार्यक्रममार्फत् विकासमा हातेमालो गर्न आफूले यसपटक बर्दियाको क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएको बताए ।

कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार कलिराम थारुसहित एमाले तथा अन्य विभिन्न दलका स्थानीय नेता कार्यकर्ताहरू काँग्रेस प्रवेश गरेका छन् । नेता राठोरले नवप्रवेशीहरूलाई पार्टी सदस्यता, खादा, मालासहित काँग्रेसमा स्वागत गरे ।