शेरबहादुर देउवाको संसदीय यात्रामा लाग्यो ‘ब्रेक’
नेपालगन्ज ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार नबन्ने निर्णय गरेका छन् । यो निर्णयसँगै देउवाको ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ ।
सोमबार देउवाको सचिवालयले उनी निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । उनका स्वकीय सचिव भानु देउवाले भनेका छन्, ‘नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’
हठी र शाहसी नेताका रुपमा आफ्नो पहिचान बनाएका देउवालाई नेपाली काँग्रेस डडेल्धुराले आगामी निर्वाचनको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको थियो ।
तर, काँग्रेसभित्रको आन्तरिक विवादसँगै भरखरै सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि देउवाले निर्वाचन नलड्ने मुड बनाएका हुन् । यद्यपी देउवा पक्षीयहरुले विषेश महाधिवेशनलाई अवैधानिक भन्दै आएका छन् । उनीहरु निर्वाचन आयोगले गगन समूहलाई दिएको मान्यताका विरुद्ध न्यायालय गएका छन् ।
यो पनि ‘सर्वोच्चमा हालेको रिट कुनै हालतमा फिर्ता लिँदैनौं’
देउवा २०४८ सालदेखि निरन्तर रुपमा प्रतिनिधि सभा सदस्य (संविधान सभा समेत) हुँदै आएका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गृह जिल्ला डडेल्धुराबाट पहिलो पटक निर्वाचित भएका थिए । सो निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका उनी गृहमन्त्री वने ।
२०५१ साल कात्तिक २९ गते भएको मद्यावधि निर्वाचनमा पनि देउवा डडेल्धुराबाटै निर्वाचित भए । उनी २०५२ सालमा पहिलो पहिलो पटक प्रधानमन्त्री समेत भए । प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सदभावना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए ।
२०५६ साल वैशाख २० र जेठ ४ गते (दुई चरण) मा भएको निर्वाचनमा देउवा डडेल्धुराबाटै तेश्रो पटक प्रतिनिधि सभा सदस्य चुनिए । २०५८ साल साउनमा उनी दोश्रो पटक प्रधानमन्त्री भए ।
नेपाली काँग्रेसभित्रको आन्तरिक किचलोका कारण उनले २०५९ साल जेठ ८ गते प्रतिनिधि सभा बिघटन गरी असोजमा निर्वाचनको मिति तय गरे । सोही विषयले नेपाली काँग्रेस विभाजन भयो । पछि उनले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।
तत्कालीन सशस्त्र विद्रोहका कारण तोकिएको समयमा निर्वाचन नहुने देखिएपछि उनले संवैधानिक बाधा अड्काउ फुकाउन तत्कालीन राजा ज्ञानेन्द्र शाहसमक्ष बिन्ती गरेका थिए ।
तर, राजा ज्ञानेन्द्रले उनलाई अक्षम भन्दै पदच्यूत गरेका थिए । ज्ञानेन्द्रको उक्त कदमपछि देशमा लोकतान्त्रिक आन्दोलन तीव्र हुन गयो । आन्दोलन मत्थर पार्न ज्ञानेन्द्रले २०६१ साल जेठमा फेरी देउवालाई नै प्रधानमन्त्री वनाए । तर, प्रधानमन्त्री भइसके पनि देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको लगायतका आरोप लगाउँदै ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते देउवालाई अक्षम भन्दै फेरी सत्ताच्यूत गरे ।
२०६२÷६३ सालको जनआन्दोलनपछि २०६४ साल चैत्र २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा देउवाले डडेल्धुरासँगै कञ्चनपुरको संविधान सभा सदस्य निर्वाचन क्षेत्र–४ बाट पनि बाजी मारेका थिए । पछि उनले कञ्चनपुर–४ छोडे । चुनावअघि देउवा नेतृत्वको नेपाली काँग्रेस प्रजातान्त्रिक र नेपाली काँग्रेसबीच एकता भइसकेको थियो ।
२०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा देउवाले डडेल्धुरासँगै कैलाली संविधान सभा सदस्य निर्वाचन क्षेत्र–६ बाट पनि विजयी भएका थिए । पछि उनले कैलाली–६ छोडे ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि उनी २०७४ साल जेठमा प्रधानमन्त्री भए । यो उनको चौथो पटकको प्रधानमन्त्रीकाल थियो ।
२०७४ साल मंसिर १० र २१ गते (दुई चरणमा) भएको प्रतिनिधि सभा निर्वाचनमा देउवाले फेरी डडेल्धुराबाट निर्वाचन जिते । त्यसपछि उनी २०७८ साल असारमा पाँचौं पटक प्रधानमन्त्री भएका थिए ।
२०७९ साल मंसिर ४ भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि देउवाले डडेल्धुराबाटै विजयी हासिल गरेका थिए ।
यसैबीच, देउवा पत्नी आरजुलाई पनि यसपटक काँग्रेसले उम्मेदवार बनाएन । उनी कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी थिइन् । सो क्षेत्रमा पार्टीले नरनारायण शाहलाई टिकट दिइसकेको छ । जेन–जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो ।
२००३ सालमा डडेल्धुराको रुवाखोला भन्ने ठाउँमा जन्मिएका देउवा २०१७ सालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी २०२८ सालमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सभापति समेत भए । २०७२ सालमा भएको काँग्रेसको १३औं महाधिवेशनबाट देउवा काँग्रेसको सभापति भएका थिए ।





0 Comments