प्रतिनिधि सभा निर्वाचन : बाँके काँग्रेसले ‘टुंग्यायो’ तीन वटै क्षेत्रका उम्मेदवार
नेपालगन्ज ५ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बाँकेका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंग्याएको छ ।
यसरी नाम टुंगोमा पुग्नेमा काँग्रेस बाँकेका जिल्ला सचिव, सभापति र काँग्रेस लुम्बिनी प्रदेशका सभापति रहेकाछन् ।
बाँकेको तीन वटा निर्वाचन क्षेत्र रहेकाछन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ बाट काँग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर–२ बाट काँग्रेस बाँकेका जिल्ला सचिव सुधान्सु कोइराला र क्षेत्र नम्बर–३ बाट काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको नाम टुंगो लगोको हो । यद्यपी, यि उम्मेदवारलाई पार्टीले उम्मेदवारीका लागि अझैँ टिकट भने हाथमा थमाईसकेको छैन ।
काग्रेस बाँकेका सभापति गौडेलले तीन जनाको नाममा टुंगो लागेको भन्ने जानकारी पाएपनि टिकट अझैँ हातमा परिनसकेको बताए । सभापति गौडेलले २०७४ सालमा प्रदेश सभा–१ ‘ख’ को उम्मेदवार भएपनि उपविजेता भएका थिए । त्यो बेला तत्कालिन बामगठबन्धनका उम्मेदवार आरती पौडेल विजयी भएकी थिइन ।
‘अहिलेसम्म टिकट हातमा परेको अवस्था छैन, म अहिले पनि काठमाडौंमै छु, हेरौं अन्तिम अवस्था सम्म के हुन्छ,’ गौडेलले भने । टिकट कसैको हातमा नपरेकाले काँग्रेस क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने लगायत नेताहरुले अहिले पनि जोडबल गरिरहेका छन् ।
यस्तै काँग्रेस बाँकेका जिल्ला सचिव सुधांसु कोइरालाले क्षेत्र नम्बर–२ का लागि आफ्नो टिकट टुंगो लागिसकेको बताएका छन् । ‘मेरो टिकट फाइनल भएपछि म आजै नेपालगन्ज फर्केको छु, टिकट हातमा चाहिँ परेको छैन,’ उनले अगाडी भने, ‘म नोमिनेसनका लागि तयारी गरिरहेको छु । जिल्ला सभापति उतै (काठमाण्डौं) हुनुहुन्छ, उहाँले टिकट बोकेर आउने कुरा भएको छ ।’
सचिव सुधान्सु नेपाली काँग्रेस बाँकेका पुर्बसभापति एवम पुर्बप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका सहोदर भाईका छोरा हुन् । उनका बुवा स्वर्गीय डा. अरुण कोइराला र आमा किरण कोइराला काँग्रेस बाँकेका पुर्बसभापति हुन् । सुधान्सु पहिलो पटक चुनाव लड्न लागेका फ्रेस युवा उम्मेदवार हुन् ।
यसैगरी काँग्रेसले बाँके क्षेत्र नम्बर–३ मा पार्टीका तत्कालिन केन्द्रिय सह–महामन्त्री किशोरसिंंह राठौर चुनाव लड्ने भए उनैलाई उम्मेदवार बनाउने सोँच बनाएको थियो । तर, नेता राठौरले आफु बाँके–३ बाट यसपटक चुनाव नलड्ने, बर्दियाको आफ्नो पुरानौ क्षेत्रबाट लड्ने बताएपछि पार्टीका लुम्बिनी प्रदेश सभापति पुनलाई बाँके–३ मा उम्मेदवार बनाउने निचोडमा पार्टी नेतृत्व पुगेको स्रोतले बताएको छ । उक्त क्षेत्रबाट नेता लक्ष्मीनारायण शाहले पनि आफ्नो टिकटका लागि जोडबल गरिरहेका छन् ।
‘गगनको हातमा पार्टी गएपछि किशोर दाईको मुड चेन्ज भएको छ, उहाँ बाँकेमा लड्ने सम्भावना त कम नै छ, पार्टी भित्र वातावरण बन्यो र शेरबहादुर दाई लगायत टिमका नेताहरु सबै लड्ने भएपछि किशोर दाईको रोजाई बर्दिया–२ नै हुन्छ,’ राठौर निकट एक ती नेताले भने ।
काँग्रेसले हरेक चुनावम अन्तिम समयमा मात्र टिकट टुंगो लगाउने परम्परालाई पार्टीको वर्तमान नेतृत्वले पनि निरंतरता दिएको छ । ‘किशोर दाईसँग सल्लाह भएर नै बाँके–३ मा प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवार बन्ने मनस्थिती बनाउनु भएको छ, यद्यपी अहिलेसम्म टिकटको टुंगो लागेको छैन,’ सभापति गगन थापा निकट काँग्रेसका एक नेताले भने ।





0 Comments