बाँकेमा निर्वाचन प्रहरी छनोट सुरु
२,४९१ निर्वाचन प्रहरीका लागि ४,८२८ जनाको आवेदन
नेपालगन्ज ५ माघ : बाँकेमा निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु भएकोछ । आगामी माघ ७ गतेसम्म चल्ने छनोट प्रक्रिया दुई सिफ्टमा सञ्चालन गरिएकोछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा निर्वाचन प्रहरी भर्नाका लागि ४ हजार ८ सय २८ जनाको आवेदन परेकोछ ।
दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्नका लागि आवेदन माग गरिएकोमा दोब्बर बढी चार हजार ८२८ जनाले आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जिल्लाको तीन वटा निर्वाचन क्षेत्रका ४०० मतदान केन्द्रमा अन्य सुरक्षाकर्मीसंगै उनीहरुलाई खटाइनेछ ।
निर्वाचन प्रहरीका लागि आवेदन दिएकाहरुलाई आज(माघ ५ गते) देखी ७ गतेसम्म छनोट प्रक्रिया चल्नेछ । आवेदकहरुको शारीरिक परीक्षण र सहिष्णुता परीक्षा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीका अनुसार माघ ५ गते दर्ता नम्बर १ देखि १६०० सम्मका, माघ ६ गते दर्ता नम्बर १६०१ देखि ३२०० सम्मका र माघ ७ गते ३२०० देखि माथि सबैको शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा हुनेछ ।
दुई सिफ्टमा गरिने सो परीक्षाका लागि सार्वजनिक सूचना समेत जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेर दरखास्त लिने कार्य सम्पन्न गरिसकेको छ ।
समितिले निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकबाट दरखास्त लिएको छ ।
बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । बाँकेमा १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेको पनि उनले बताए ।





0 Comments