निर्वाचन आयोगको निर्णय : गगन थापा पक्षले पायो मान्यता
नेपालगन्ज २ माघ : निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा पक्षलाई आधिकारिकता दिएको छ ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।
विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।
केहीदिन अघि भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गरेको थियो । त्यसपछि थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।
शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए । दुवै निवेदनपछि थापाले नेतृत्व गरेको काँग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो ।
देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । “आयोगको निर्णय सेटिङअनुसार आएको छ’, उनले भने ।
अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।





0 Comments