गगन र देउवा पक्षको दाबी अध्ययन गर्दै आयोग
८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दाबी
नेपालगन्ज २ माघ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ । आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन थालेको हो ।
पुष २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कार्यसमिति अद्यावधिक गर्न भनिएको छ । साथै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने भनिएको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तय भएको छ । यसअघि काँग्रेसबाट मनोनयनपत्रमा हस्ताक्षर शेरबहादुर देउवाको रहने गरी निर्वाचन आयोगमा अभिलेखित छ । त्यसलाई बदलेर गगन थापाको हस्ताक्षर मनोनयनपत्रमा हुने भनेर विशेष महाधिवेशनबाट निर्वाचित समूहले निवेदन दिएको हो ।
तर, शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै आयोजना नभएको भनेर निवेदन दिएको छ । ‘जानकारी सम्बन्धमा’ भनेर दिइएको देउवा पक्षको निवेदनमा लेखिएको छ, ‘नेपाली काँग्रेसको नाममा काठमाडौँमा विशेष महाधिवेशन भएको भनी विभिन्न सञ्चार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको व्यहोरा समेत अवगत गराइन्छ ।’
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुष २७ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन चलेको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगमा पत्र बुझाएको छ ।
यसैबीच, आधिकारिकता विवाद अध्ययन भइरहेका बेला नेपाली काँग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन आज(शुक्रबार) दिएको छ ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित स–शरीर उपस्थित भएको केन्द्रिय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको बताएका छन् ।
खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गरे ।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगसमक्ष अद्यावधिकको निवेदन दिइसकेको छ ।





0 Comments