बाँकेका सिमसार तथा जलीय क्षेत्रहरुमा जलपन्छीको गणना
- | नेपाखबर | सूचना-प्रविधि
- १ माघ २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज ३० पुष : बाँकेमा जलपन्छी गणना गरिएकोछ । हिजो मङ्गलबारदेखि सुरु गरिएको जलपन्छी गणना आज बुधबार पनि गरिएको हो ।
बाँकेका विभिन्न तालतलैया, सिमासर, जलाशय तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छीको गणना अन्र्तगत बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा पर्ने कान्ति तालमा जलपन्छी गणना गरिएको थियो ।
यसअघि मङ्गलबार बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, अन्य तालतलैया तथा जलाशय क्षेत्रमा गणना गरिएको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको पनि उनले जानकारी दिए ।
यस वर्ष नेपालका विभिन्न स्थानमा पुष १९ गतेदेखि जलपन्छीको गणना सुरु गरिएको र माघ ४ गतेसम्म गणना गरिने उनले बताए । सोक्रममा पानीमा आश्रित जलपन्छीको अवस्था, प्रजातिको अवस्था, तथा तालतलैया र सिमसार क्षेत्रको अवस्था समेतका बारेमा जानकारी लिइनेछ।
नेपालमा जलपन्छीको अवस्था के छ ? कुन कुन प्रजातिका छन् ? संख्या घटेको छ कि बढेको छ ? चराको अवस्था के छ ? भन्ने लगायतका विषयमा गणनासंगै उनीहरुको आहारविहार तथा सिमसार क्षेत्र र तालतलैयाको अवस्थाको अध्ययन समेत गरि सबै तथ्याङ्क सरकारलाई बुझाउने गरिन्छ । सरकारले नीति निर्माण गर्दा र कार्ययोजना बनाउँदा उक्त विवरण, तथ्यांक र जानकारीले सहयोगी भूमिका खेल्नेछ ।
जाडो सिजनमा उत्तरी ध्रुवमा हिउँ पर्ने हुँदा त्यहाँका चराहरु आहारविहारको खोजीमा बसाइँसराइ गरी यतातिर आउने गर्छन् । विश्वमा चराका ८ वटा उडान मार्ग छन्, नेपाल दक्षिण एशिया मार्ग पर्छ, विभिन्न देशबाट चराहरु यो मार्ग हुँदै नेपाल आउँछन्, प्रायः हाँस प्रजातिका बढी आउने गर्दछन् ।
नेपालमा चार सयभन्दा बढी चरा स्वयंसेवकहरु गणनामा लागेकाछन् । नेपालका ८० बढी सिमसार तथा जलीय क्षेत्रहरुमा जलपन्छीको गणना भइरहेको छ ।
बाँकेको नेपालगन्जस्थित कान्ति तालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइन्छ । सारसका साथै यहाँ सिलसिले हाँस, मरुन, कुट, वकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङ फिसरलगायत पानीमा आश्रित अन्य जलपन्छीहरु रहेकाछन् ।
बाँकेमा जलपन्छी गणनाका लागि नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत नेपालीसहित सङ्घकै सुरज बस्नेत, इन्द्रजीत परियार, पृथ्वी चौधरी, अमृत नेपाली, फोटोग्राफर विमल प्रधान खटिएका थिए ।





0 Comments