राप्तीसोनारी क्षेत्रमा तीन दिनदेखि नमस्तेको नेटवर्क ठप्प, स्थानीय सञ्चार सम्पर्कबाट वञ्चित

राप्तीसोनारी क्षेत्रमा तीन दिनदेखि नमस्तेको नेटवर्क ठप्प, स्थानीय सञ्चार सम्पर्कबाट वञ्चित

नेपालगन्ज २२ पुष : बाँकेको राप्तीसोनारी क्षेत्रमा तीन दिनदेखि नेटर्वक ठप्प भएकोछ । नेटर्वक ठप्प भएसँगै सो क्षेत्रका नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरू तीन दिनदेखि सञ्चार सम्पर्कबाट वञ्चित भएका छन् ।

महेन्द्र राजमार्गमा बिछ्याइएको टेलिकमको फाइवर तार काटिएपछि राप्तीसोनारी गाउँपालिकाका २, ३, ४ र ५ नम्बर वडाका बासिन्दा सञ्चार विहीन बनेका हुन् । 

यसअघि लामो समयसम्म विद्युत् लाइन नहुँदा टेलिकमको नेटवर्क समस्यामा पर्दै आएका राप्तीसोनारीबासी यतिबेला राजमार्गमा बिछ्याइएका फाइबरको कनेक्सन काटिँदा पुनः सञ्चार समस्या झेलिरहेका छन् ।

एनसेल सिम प्रयोगकर्ता र इन्टरनेट पहुँच भएका केही स्थानीयले मात्र मोबाइल प्रयोग गर्न पाएको राप्तीसोनारी–४ बैजापुरका स्थानीय हरीराम थारुले जानकारी दिए । 

उनले भने, “कुन समस्याका कारण एनटीसीको सिममा फोन नै लाग्दैन, कसैलाई पनि स्पष्ट जानकारी छैन ।” नेपाल टेलिकमको सिम मात्र प्रयोग गर्नेहरू पूर्ण रूपमा मोबाइल सम्पर्कबाट वञ्चित भएको उनले बताए ।

कतिपयले मोबाइल बिग्रिएको आशङ्कामा पसलमा लगेर देखाउनसमेत थालेको उनको भनाइ छ । नेपाल टेलिकम कार्यालय नेपालगन्जका अनुसार महेन्द्र राजमार्गमा निर्माणाधीन पुल तथा घुमाउरो मोडमा रेलिङ जडान गर्ने क्रममा जेसीबीले खाल्डो खन्दा विभिन्न स्थानमा टेलिकमका अप्टिकल फाइबर तार काटिएका कारण मोबाइल नेटवर्क अवरुद्ध भएको हो ।

Duduwa Tato hawa Bachau Image

सोमबारदेखि फाइबर तार जोड्ने काम सुरु गरिएको भए पनि धेरै ठाउँमा तार काटिएकाले मर्मतमा समय लागेको टेलिकम कार्यालय नेपालगन्जका प्राविधिक अधिकृत अर्जुन पाठकले बताए ।

फाइबर तार काटिएकै कारण राप्तीसोनारी–८ मा रहेको टावरको सर्भर डाउन भएकाले समशेरगञ्जदेखि पूर्वतर्फको क्षेत्रमा मोबाइल नेटवर्कमा समस्या देखिएको हुन सक्ने उनले बताए ।

तार मर्मतका लागि प्राविधिक टोली निरन्तर लागिरहेको उनको भनाई छ । उनका अनुसार मङ्गलवार बेलुका सम्म समस्या समाधान हुने अपेक्षा गरिएको छ । यद्यपी यो समाचार तयार पार्दासम्म समस्या समाधान भएको थिएन ।